जीवनको परिभाषा

‘जीवनको एकसमय मानिसमा त्यस्तो आउँछ, जुन बेला त्यो बैंशले मानिसलाई उन्मत्त बनाउँछ, वैंश उर्लन्छ, वैंशको बाढि आउँछ, सारा भावना र सपनालाई आँधीले तहसनहस पारेर कुण्ठित तुल्याउँछ र वैंश छचल्किन्छ अनि पोखिन्छ । वैंश छचल्किएर पोखिएपछी, जीवनको सतह समुद्र जस्तै निश्चल र स्थीर रहन्छ । बल्ल यतिखेर मानिसले आफ्नो वैंशको उर्लदाँ भेलहरू सम्झेरचित्त बुझाउने गर्दछ ।’ शायदः कसैले मलाई जीवनको अर्थ र परिभाषा सोध्छ भने म यही भन्ने थिएँ । शायदः यतिले मात्र त्यति नपुग्ला – म भन्ने गर्छु – ‘जीवन भनेको दण्ड हो, यमराजले मानिसलाई दिएको दण्ड ! खोक्रो शरिरलाई यमराजले एउटा डोरी बाँधेर सजीव तुल्याउँछ, त्यही शरिर र दण्ड सकिने अवधि अर्थात् मृत्यूबिचको सङ्घार हो जीवन । जसको फेसला यमराज गर्दछन्, त्यसैले यहाँ मानिसको जीवनको कुनै मूल्य र मान्यता हुँदैन, त्यो डोरी जुनबखत पनि चुँडिन सक्छ । जीवन भन्ने दण्ड त्यतिखेर सकिन्छ, अनि मात्र मानिसले स्वर्गमा वा नर्कमा स्थान पाउँछ । र यमराजको डोरी भनेकै वास्तवमा जीवन हो ।’ शायदः यो बन्दा बढी त कसैले भन्न नसक्ला – ‘पोखिएको वैंशको परिकल्पना भुल्न, जीवनको यथोचित मूल्य निर्धारण गर्न म खप्पीस छु । जीवनको मूल्य आजकाल हेरक साँझ म त्यही साँहिलीको भट्टीमा निर्धारण गर्दछु । वास्तवमा मैले जीवनको सही अर्थ लगाउन जानेको छु – यो मेरो घमण्ड भन्दा पनि फरक पर्दैन । मैले जीवनको सही उपयोग गर्छु भन्ने मलाई आफूमा दृढ विश्वास छ । त्यसैल मेरो न घर छ, न कुनै ठेगा – हरेक गल्ली मेरो ठेगाना अनि हर एक भट्टी मेरो घर – यति भन्दा काफी हुन्छ । हरेक दिन साँझ ढल्न नपाउँदै म जीवनको मूल्य निर्धारण गर्न भट्टी प्रयो गर्छु, जहाँ एक बोतल रक्सीसित मेरो जीवनको मूल्य म आफैं तुलना गर्ने गर्छु । पोखिएको वैंश, वैंशको उन्मत्त कल्पना म दिनभर एउटा कुनामा गर्दछु र साँझ ढलेपछी त्यसलाई भुलाउन भट्टीको प्रयोग गर्दछु । आजभोली हरेक साँझ मात्तिन थालेछ, जीन्दगी देखि जीन्दगी आत्तिन थालेछ – रहरै रहरमा पिएँ, विवश भएर पिएँ, पिउँदिन पिउँदिन भन्दै पिएँ, दुःखमा पिएँ सुखमा पिएँ, त्यसैले आजभोली जीन्दगानी छोट्टीन थालेछ, आजभोली हरेक रात रक्सिन थालेछ । स्वाभाविकै हो – त्यसैले मेरो हरेक साँझ विगतका कल्पनामा मात्तिने गर्दछ – रक्सिने गर्दछ, न मन्दिरमा बसेर पिएँ, न मसानमा लडेर पिएँ, न नाचेर पिएँ, न हाँसेर पिएँ बरू एकान्तमा सधैंजसो रूँदै पिएँ । मैले पिउनु र नपिउनुको औचित्य कसलाई के ? मेरो हरेक साँझ साँहिलीको टेबुलमा, हरेक रात चिसो-हिलो सडकमा बित्ने गर्दछ । मैले जति नै कोशिस गरेपनि मेरो मूल्य निश्चित हुँदैन र मेरो निलामीमा सडकका भतुवा कुकुरहरू बाहेक कोही उपस्थित हुँदैन । यो जीवन त मेरो लागि यमराजले दिएको बक्सिस न हो ? यस्तो बक्सिसको जीन्दगीको औचित्य के ? मूल्य के ? मान्यता के ? काम के ? जसलाई वास्ता हुनुपर्थ्यो – त्यो त भएन र त्यसले त गरिन भने अरूलाई के चासो ?’

यस्तै यस्तै भाषण सुन्ने श्रोता गल्लीका कुकुर हुने गर्दछन् । जो मेरो तर्फबाट केही पाउने आशा गर्दै म तर्फ उन्मुख हुने गर्दछन् । यहाँ मलाई पिउन देऊ भन्नु पर्दैन – पिउने त हाम्रो वैयक्तिक स्वतन्त्रता हो । जुन स्वतन्त्तता प्रेमपछीको विछोडमा हामीलाई प्राप्त हुन्छ । ‘पिउँदा पिउँदै जीन्दगी यो रित्याउन चाहन्छू म !’ भनेर कसैलाई सुनाउनु पर्दैन यहाँ । हामीलाई हाम्रो यो बक्सिसको जीन्दगीको मूल्य आफैंले चुकाउनु पर्ने कुनै आवश्यकता वा वाध्यता छैन, त्यो त हरेक साँझ रक्सीको बोतलले चुकाउने गर्दछ । उर्लँदो वैंशको बाढीमा सामेल हुँदा प्रेम भयो, तर वैंशालु आँधीमा तहसनहस पारेर वैंश मेरो उनले पोखिदिइन् । मेरो बगैंचाको फूल, मनपर्ने फूल भँवराले चुस्न नपाई ओइलिएको छ । कसैले त्यो फूललाई टिप्नु परेन र उनी आफैं चुँडिएर ओइलाइन् । गल्ती त सबै मार्फत हुन्छ, सुधार कमै । उनले मेरो जीवनमा प्रशनसुचक चिन्ह खडा गरेर गइन् – तर त्यसको उत्तर दिने कोही भएन । केवल मुटुमा चोट पारी उनी गइन्, तर त्यो कहाँ दुख्छ, कसैले थाहा पाउन सक्तैन । अब त जीवनको परिभाषा लेख्नुपर्दा ‘विछोड’ मात्र लेखे पुग्छ ।

यमराजले बक्सिस दिएकै भए पनि उनले मेरो जीवनलाई रक्सीको दायरामा सिमीत बनाएर – मलाई कैदी बनाइन् । त्यस्तो कैदी जो आफ्नो इच्छाले भट्टीको ठर्रा बाहेक अरू केही खाना र गर्न सक्तैन ।

आजकाल म बिनालक्षित जीवनको मार्गमा निरुद्देश्य नजानी के को खोजी गर्दैछु – म शायदः मृत्यू खोजिरहेको छु । किनकी अहिलेको दुनियामा मृत्यू बाहेक अरू सबै लक्षित र उद्देश्य अँगाल्नेमा पर्दछन्, म आफूलाई रक्सीभित्र खोज्ने गर्छु – नशाभित्र खोज्ने गर्छु – गल्लीभित्र खोज्ने गर्छु – मृत्यूसँग दाँज्न खोज्छु – सडक, भट्टीमा सुताउन खोज्छु । शायदः मेरो यो जीवनको अर्थ उनलाई सुनाउने कोही छैन । शायदः उनलाई के थाहा – ‘म त जीवनको परिभाषा र अर्थभित्र मात्र सिमीत भइसकेको छु । मलाई यमराजले बाँधेको डोरी अब एकसरो मात्र चुँडिन बाँकी छ, नजाने त्यसले कतिसम्म थेग्न सक्ला ….. ? …………………….’

– २०५२-०४-२६ गाइजात्रा, प्रमाणपत्र तह द्वितीय वर्ष, हरियोखर्क, पोखरा – १५

वाहियात् !

‘खच्, खच्, खच्, खच् !’ समय अघि बढिरहेको छ, घडीले समयलाई भयानक कोर्रा हानिरहेको छ, छेवैमा मधुर संगीत गुञ्जिइरहेको छ – ‘तु इस तरह से मेरे जिन्दगीमे सामिल हे…’ आत्मा कठोर हुँदै गइरहेको छ, अनि आँखा अगाडी एउटा पुस्तक आफूलाई पढिदिने आग्रह गर्दैछ । तर ! तर, मन पटक्कै पुस्तकमाथि पर्न मान्दैन -आखिर पाठ्यपुस्तक त थियो । पाठ्यपुस्तक अर्थात् करले पढ्नैपर्ने पुस्तक, प्रमाणपत्र आर्जन गर्न पढ्नुपर्ने पुस्तक । समझन्छु – ‘हामी त केवल मृत्युको आगमन कुर्न बसेका हौं !’ संगीत बन्द हुन्छ – घडीको कोर्रा टड्कारो सुनिन्छ ।

‘ढक, ढक, ढक, ढक !’ ढोकाबाट आवाज आउँछ, शायदः कोही भित्र आउने अनुमति चाहन्छ, एउटा अवरोधक – जो सजिलैसँग मृत्यु कुर्न पनि दिदैंन । आखिर वाध्यता थियो – ढोका त खोल्नैपर्‍यो । बजिया हल्ला गर्दै भित्र पस्छ – ‘तिमी घाम अनि म छायाँ !’ अशोक सिधै मेरो पढ्ने ठाउँतिर पुग्छ र भन्छ – ‘पढन्दास ! कति पढ्न सक्छस् ?’ हुन पनि किताब अगाडी राखेपछी लद्दु पनि पढन्दास भइदिन्छ । अशोक केहिबेर हल्ला गर्छ, गीत गाउँछ – ‘अजीव दास्ताँ है ये…’ अनि यता उता छानबिन गर्छ, म उसको कृयाकलाप हेरिरहन्छु, एउटा जासुस झैं अनि अन्तमा एउटा पुस्तक ‘हस्तरेखा विज्ञान’ लिएर निस्कन्छ । म पूनः ढोकामा छेस्किनी घोट्छु, अनि पुस्तक भएतिर लाग्छु, पुस्तकको आग्रह पूरा गर्न खोज्छु – ‘राष्ट्रवादको शिद्धान्त उन्नाइसौं सताब्दीको सुरुमा युरोपमा प्रादुर्भाव भएको हो । ह्यान्स कोन भन्दछन् – विश्वव्यापी महत्वको कुरा भएता पनि राष्ट्रवादको विचार…’ एक्काइसौं शताब्दी आउँदा उन्नाइसौं शताब्दीको कुरा, चित्त बुझ्दैन, मानिसमा भ्रष्टचारवाद, अवसरवाद, घुसवादले प्रश्रय पाइरहेको यो समयमा राष्ट्रवाद – झनै चित्त बुझ्दैन । पुस्तक बन्द गरेर एउटा कुनामा तह लगाउँछु अनि अर्को पुस्तक निकाल्छु –

‘I get up,

Disturbed by the noise of raindrips.

It’s still raining.

Where is the sun?’ झनै चित्त बुझ्दैन, के नै लेखे भन्ठान्दो हो, एउटा सामान्य क्रियालाई लिपीबद्ध बनाएर कविता बनाउँदैमा कवि हुने घमण्ड गर्दो हो, सोच्छु – त्यस्ता जाबा कविता त म पनि लेख्न सकिहाल्छु । अनि कलम कापी समाएर लेख्न थाल्छु –

‘सूर्य उदायो,

चराहरू उडे

तर कहाँ

आकाशमा !’

एउटा कविता भै त हाल्यो । पूनः अल्छि लाग्छ पुस्तक बन्द गर्छु, कविलाई धिक्कार्छु, कपि, कलम तह लगाउँछु । सोच्छु – ‘यो दुनिया, यो रङ्गमञ्च, यो जिन्दगी ! मेरो लागि औचित्यहिन छ ।‘ एक्कासी घडीले कोर्रा हान्छ – ध्यान भङ्ग हुन्छ, सिरानमुनिबाट डायरी पल्टाउँछु – तस्वीर हेर्छु । अनि एक एक गरि पाना पल्टाउँछु, कतै पत्रबाट एउटा चिठी फुत्त खस्छ, पल्टाउँछु – पढ्छु –

‘चन्द्र ! यदिऽऽ… तिमी ! तिमी मेरो जीवनबाट टाढा भयौ भने मेरो जीवनको अस्तित्व नै रहने छैन, शायदः …….. त्यतिबेला म लगाम नभएको घोडा अनि वीणा नभएकी सरस्वती हुनेछु । ………. टिप्नेले त फूलमात्र टिप्छन्, फूलसँगै काँडा टिप्दैनन् । जसले गर्दा फूल चाँडै ओइलाउँछ ………….. ।’ सनीमाको त्यो पत्र फढेर सकेपछी अतीतमा फर्कन्छु । सनीमा – मेरी प्रेमिका, क्याम्पस जीवनमा उनको र मेरो सम्बन्ध प्रगाढ भएर प्रेममा बदलिएको थियो । अतीत गुञ्जन्छ – म त एउटा सपना हुँ, यो सपनासँग कसैले प्रेम नगर !’ म अतीतलाई ज्यादा नै प्रेम गर्दछु । सनीमा मलाई कहिल्यै नछुट्टिने वाचा गर्न लगाउँथिन् र म गर्थें पनि । उनी मसँग घुम्ने चाहना गर्दथिन् अनि म उनीसँगै घुम्न निस्कन्थें, ताल, गुफा, झरना, बाँध इत्यादी । कुनै एकान्त ठाउँमा बस्दा, मेरो शिर उनको काखमा हुन्थ्यो, उनको हात मेरो केशराशी खेलाउने गर्दथ्यो । हामी घण्टौं त्यसरी नै बस्थ्यौं । म अतितबाट फुत्केर वास्तविकतामा आउँछु – उनको तस्वीर हेर्छु – कति हँसिली छिन् उनी, लामो केशराशी, गोल अनुहार अनि आकर्षक आँखा । घडीले पूनः कोर्रा हान्छ – समयलाई । पूनः डायरीका अन्य पानाहरू पल्टाउन थाल्छु । उनका हातले लेखिएका असङ्ख्य भावहरू छन् मेरो रोजनाम्चामा । समस्तमा मेरो र उनको संयुक्त रोजनाम्चा हो त्यो – प्रत्येक पृष्ठमा ‘म तिमीलाई प्रेम गर्छु’ भन्ने वाक्य कोरिएको छ । हुन त, जीवन पनि एउटा रोजाना लेखिने पत्रिका हो, जीवनले असङ्ख्य घट्नाहरू निलेर बसेको हुन्छ । वास्तवमा ‘भवँराले रस नचुसी फूलको जीवनले सार्थकता पाउँदैन ।’ तर मलाई लाग्दैन – भवराँ र फूल जस्तो हाम्रो जीवन हो, प्रेम हो !

सोचाइमा नै समयको असङ्ख्य भेलहरू बगाइसकेको रहेछु । अर्को एउटा पस्तक पल्टाउँछु – ‘प्रसिद्ध दार्शनिक तानिकावा तेचुजाका एक मात्र सुपुत्र उन्नाइस वर्षीय किशोर तानिकावा सुनतारोलाई कवि यियोसी ताचुजीले ‘बुङ्गाकाई’ साहित्यिक पत्रिकामा परिचय गराइदिए ।’ मान न मान मै तेरा मेहमान – कसैले परिचय गराइदियो भन्दैमा ऊ कवि हुन जाने ? हुन त एकले परिचय नगराईकसरी उभो लागिन्छ र ? तर म मा एउटा अनौठो बानी छ – ‘म मैं हुँ !’ खाना खाने समय भइसक्छ – म खाना खान निस्कन्छु – खान मन लाग्दैन, खाँदा खाँदै छोडेर उठ्छु, अनि बाहिरतिर टहलिन हिँड्छु । बाटोमा पूनः अशोक भेट हुन्छ, ऊ म सँगसँगै पछी लाग्छ, म वास्ता गर्दिन । एकोहोरो हिँड्छु, शायदः दङ्ग पर्‍यो होला । अल्छि लागेजसतो हुन्छ, अशोक बोल्न खोज्थ्यो – म चुप भइदिन्छु । चउरको एक छेउमा गएर बस्छु – स-साना ढुङ्गाका टुक्राहरू जम्मा गर्छु – घेरो लगाउँछु र बिचमा थच्किन्छु, सोच्छु – ‘म कैदी हुँ !’ किनकी आफ्नो ईच्छा अनुसार केहि गर्न सक्ने सामर्थ्य छैन । अशोक कतै लागिसकेको हुन्छ । म त्यहाँबाट कोठातिर फर्कन्छु ।

कोठामा उही घडीको कोर्रा दोहोरिन्छ, पूनः अघिको रोजनाम्चा पल्टाउँछु अनि लेख्न थाल्छु – ‘वास्तवमा बाँच्नु नै मर्नुको लागि हो ?’ कति लेख्नु, आखिर कवि हुने ईच्छा मसँग छैन, त्यत्तिकैमा एउटा पाना भरिन्छ । अनि सनीमाका पत्रहरू झिक्छु, एक एक गरि पल्टाउँछु, पढ्छु – रोमाञ्चक अनुभुति लिन्छु । अन्तमा उनको अन्तिम पत्र पल्टाएर हेर्न थाल्छु – ‘तिमी जसको हुनेछौ, त्यो भाग्यमानी हुनेछ ! चन्द्र ! तर, म खुद बुझ्न सकिरहेकी छैन, आखिर एकले अर्कासँग टाढिनु त पर्छ नै ? तर, पारिवारिक, सामाजिक रितीरिवाजहरूलाई पछ्याउँदै म तिमीबाट टाढा हुन गइरहेकी छु, म आफ्नो विवाहको कुरालाई प्रतिकार गर्न सकिरहेकी छैन………………’ आँखा टलपलिन थालेको थियो, आखिर प्रेमीहरूका बिच यो ठूलो समस्या हो, सारा सपनाहरू डढेर खरानी हुनपुग्छन् । अतीत पिउन सक्तिन रूमाल लिएर आँखा हल्का बनाउँछु – ‘कहिले चुप बस्छु, कहिले केही गुनगुनाउँछु, तिमी उति याद आउँछ्यौ, जति तिमीलाई भुल्ने कोशिस गर्दछु अर्थात् जीवन भन्नु त यस्तै रहेछ हर साँझहरू बदलिने गर्छन्, माया भन्नु त यस्तै रहेछ हर प्रेमीहरू बदलिने गर्छन् !’ पूनः घडीको कोर्रातिर ध्यान दिन्छु – घडी समयको हत्या प्रत्येक सेकेण्ड, प्रत्येक मिनेट, प्रत्येक क्षणमा गर्दछ – कहिल्यै थाक्दैन ।

म थाकिसकेको छु । अब त सुत्नु पर्छ – तर निद्रा लाग्दैन – सनीमा आँखा वरिपरि घुम्छिन्, सम्झन्छु, भोलीको दिन महत्वपूर्ण छ – उर्मिलाले भोली आफ्नो जीवनको खुट्किलोमा अर्को पाइला हाल्ने दिन अर्थात् जन्मदिनको रमाइलोमा निमन्त्रण गरेकी छिन्, जुन उनले आजको नौकाबिहार गर्दाको बखत बताएकी हुन् । मलाई त्यँहा जानुपर्ने वाध्यता नै छ, आखिर म उनीसँग प्रणयसुत्रमा बाँधिने निश्चित भइसकेको छ – बुबा आमाको दुइतर्फी पहलमा । म उर्मिलासँग तर्किने कोशिस गर्दछु – उनी झन् झन् टाँसिने कोशिस गर्छिन् – नानाथरीका आग्रह गर्छिन् ।

म उर्मिलाको जन्मदिनको कल्पना गर्न सक्दो कोशिस गर्दछु, तर आँखा अगाडी सनीमाको अनुहार मात्र देख्छु, लाग्छ – जीवनमा सनीमा बाहेक अरू कसैलाई मेरो मनले चाहन सक्दैन । निद्रा लाग्दैन – बत्ती बाल्छु – पुस्तक पल्टाउँछु – ‘वर्तमा क्रान्तिकारी परिस्थितीमा जन संविधान सभाको आयोजना एक मुख्य प्रश्न बन्न गएको छ । यो प्रश्न कसरी हल गर्ने हो भन्नेबारे मतभेद छ । …………’ जहाँसुकै मतभेद छ – ‘वाहियात् !’ वास्तवमा हुने केही होइन । म चुप लाग्छु – घडी कोर्रा हान्दै गर्छ …… ।

– २०५४-११-२४, ड्रिमल्याण्ड, पोखरा – ८

दिनचर्या एकदिनको

ढोका ढेप्छु, छेस्किनी घोट्छु, कुर्सीमा बसेर टेबुल चियाउँछु । थुप्रै कुराहरू छन् टेबुलमा – सजावट देखि पुरस्कारसम्म, कलमदेखि धारिला हतियारसम्म, आफ्ना देखि अर्काको फोटोसम्म । किताब पल्टाउँछु – घडी जिस्क्याउँछ, ओहो ! म पसल जानुपर्ने समय भइसकेको रहेछ, लगाइराखेको खोल झिकेर अर्को खोल ओढ्छु, चाबी लिन्छु, हिँड्छु । निस्कने बेलामा ‘चिया खान’ बोलाइन्छ – खान्न भन्छु, गेट खोल्छु, नाम नचिनेका परिचित प्रश्न तेर्साउँछन् – ‘पसलतिर जाने ?’ मुण्टो हल्लाउँछु । एकोहोरो हिँड्छु, थुप्रै नचिनेका परिचित प्रश्न तेर्साउँछन् – म मुण्टो तेर्साउँछु, एकोहोरो हिँड्छु । अड्डा आईपुग्छ, अड्डा अर्थात् आवारा अड्डा, सबै ठूला आँखा पारेर हेर्छन्, म त्यतै लाग्छु – ‘चिया’ अर्डर हुन्छ । बेञ्चमा बस्छु – टेबुल चियाउँछु, खाली गिलास गिज्याउँछ – ‘दुनियाले जिऊ तताइसके !’ छेऊमा बस्नेले धुँवा उडाउँछ – झिंझो लाग्छ, हतार हतार चिया सक्छु, मुर्गा बन्छु – सबैको पैसा तिरेर रवाफ देखाउँछु, एउटा माग्छ – ‘सुर्ती’ । म सुर्ती खान्न तर किन्छु, उसको हातमा थमाउँछु अनि हिँड्छु । मान्य व्यक्ति भेट हुन्छ – गोदाममा थन्केर रहेको नमस्कार खर्च गर्छु, अर्को मित्र भेट हुन्छ – हात मिलाउन आउँछ, जाडाको समयमा हात निकाल्न वाध्य हुन्छु । ‘हतार छ’ भन्दै उम्किन्छु, मन्दिर आइपुग्छ – अप्रत्यक्ष दर्शन गर्छु र लमकलमक गर्दै हतारिन्छु, घरबाट निस्केर आधा घण्टा भइसक्दा पनि पसल पुगेको छैन । वास्तवमा दुइ-तिन मिनेटको बाटो हो त्यो ।

मुस्किलले पसल पुग्छु, पसलको पिंढी फोहोर भएको छ, पसल एकपटक हाँस्छ – व्यङ्गात्मक हाँसो । थुप्रै दिन भयो – बिक्रिपट्टा ठप्प छ, चाबी खोल्ने कोशिस गर्छु – चाबी खिया लागेको छ – भन्छ ‘ग्राहक छैनन् ! मेरो आराम किन बिथोल्छस् !’ म भन्छु – ‘आज व्यापर भए तलाईं राख्दिन, अर्को ल्याउँछु ?’ चाबी खित्का छोडेर हाँस्छ – ‘तैंले फेर्छु भनेको पनि वर्षौं भइसक्यो ?’ बल्ल तल्ल करले चाबी खुल्छ, बत्ती बाल्छु, धुप बाल्छु, अनि कुचो समाउँछु – कुचो व्यङ्ग्य गर्छ – ‘ग्राहक आयो !’ ‘मलाई थाहा छ – आज पनि ग्राहक आएन भने दशदिनसम्म तँलाई छुदैंछुन्न ?’ अनि भुईं घोट्न थाल्छु – मानपाथी भरिने कसिङ्गर निस्कन्छ, एउटा कुनमा फाल्छु, कसिङ्गरको व्यङ्ग्य ‘बल्ल तल्ल भित्र पसेको, बाहिर पठाइहाल्यो ! पख् तँलाई !’ अनि उड्छ – नाकभरि आँखाभरी उडेर आउँछ, एकछिन रनभुल्ल पार्छ ।

पसलभित्र सामान अस्तव्यस्त छ, सबै व्यङ्ग्य गर्छन् । मलाई अति अल्छी लाग्छ, चिया पसलमा पुग्छु । एउटा आईपुग्छ ठग्न – ‘के छ साथी ?’ भन्दै एक कप चिया ठग्छ – हिँड्छ । पारिघरबाट एउटीले आँखा सन्काउँछे, म ‘थु’ गरेर हिँड्छु ।

आउँछ, एउटा गधा – ‘नमस्कार’ गर्दै, पूनः गोदाम रित्तो हुन्छ । आखिर मेरो आम्दानी हो मालिस गर्नैपर्छ । अनि सोध्न थाल्छ – ‘यसको कति ?’ भन्छु कसेर – ‘…. हजार !’ ऊ आनेकाने गर्छ, कराउँछ – ‘महङ्गो भयो ! म लाँदिन !’ आखिरमा सोच्छु – ‘बिक्री नभएको धेरै भयो !’ अनि कुत मोलाइमा असी प्रतिशत घटेर लैजान्छ – ‘… सय’ मा । ऊ मख्ख छ, म दिक्क छु, ऊ भन्छ – ‘यु आर ग्रेट !’ ‘यु अल्सो !’ म भन्छु । ऊ हात हल्लाउँदै जान्छ, म खिन्न बस्छु । केहिबेरपछी झोला बोकेर आइपुग्छ – ‘एउटा विद्यार्थी भनाउँदो !’ नमस्कार ठोक्छ – मुण्टो नुगाएर नमस्कार स्वीकार गर्छु, भन्छ – ‘चाँडो सिकाइदिनु पर्‍यो !’ म आफैं त तेह्र वर्ष लगाएर राम्रोसँग जानेको छैन, उसलाई छ-सात महिनामा पुरै सिक्नुपर्ने ! मलाई दिक्क लाग्छ अनि भन्छु – ‘ल यो बनाउ !’ र दुइ-चार भाँडा अगाडी ठड्याइदिन्छु । चाँडै सिक्ने लगनशील उसलाई एउटा भाँडो बनाउन राम्रोसँग आउँदैन, अनि आँफै सिसाकलम समातेर बनाउँछु र भन्छु – ‘फेरी बनाउ !’ मलाई थाहा छ विद्यार्थीलाई कस्तो व्यवहार गर्नुपर्छ । ऊ भन्छ – ‘हजुर र म एकदिन मेरो होटलमा जाँउ न ?’ मलाई फुरुक्क पार्छ, म फुरुक्क पर्छु, शायदः उसलाई पनि मास्टर तह लगाउने उपाय आउँछ ।

त्यही भाँडोमा एक घण्टा बिताएर भन्छु – ‘ल बाँकी भोली !’ अनि पूनः भन्छू – ‘मेरो क्याम्पस जाने बेला पनि हुन लाग्यो !’ अनि बन्द गर्छु – पसल । अनि लाग्छु उही बाटो, त्यसलाई बाटो भन्नुभन्दा पनि आवारा गल्ली भन्नु ठिक र उचित छ । ती अड्डावालाहरू आँखा तर्दै इशारा गर्छन्, म हतार छ भन्दै हतारिन्छु । हुन त हतार नै हुन्छ, तर प्रथम कक्षा छोड्ने बानी बसिसकेको छ, अरुलाई सुनाउँछु – ‘जति छिटो गरेपनि भ्याउँदिन !’ सरिफ बन्छु । नुहाइ, धुवाइ गरेर समय बिताएर प्रथम कक्षा नभ्याउने हुन्छु, अनि खाना मुकभित्र घुसारेर झोला बोक्दै निस्कन्छु । झोला व्यङ्ग्य गर्छ – ‘झोला बोक्दैमा पढन्दास भइदैंन ?’ हुन पनि झोलामा एउटा रफ गर्ने पुस्तिका बाहेक अन्य वाहियात् चिजहरू छन् । जे होस् अरूले पढ्छ नै भण्ठान्छन् – खुशी नै छु ।

बस चढ्ने ठाउँमा, थुप्रै कुरेर बसेका छन् । उनीहरूलाई भाडा तिरिदिने एक मान्छेको खाँचो छ, मलाई रिस उठ्छ – ‘दिनदिनै तिर्न सक्दिन ?’ अनि लाग्छु टेक्सी स्ट्याण्डतिर, ऊ प्यासेञ्जर नभरिएसम्म कुराउने पक्षमा छ, शायदः रिजर्व लाने आशा गर्दो हो । म उसको मर्म बुझ्छु, तर चुप बस्छु, जेनतेन भरिन्छ गाडी, टेक्सी कुद्छ, म आधा बाटोमा उत्रिन्छु र हुलाकतिर लिपिबद्ध पाईला चाल्छु । हुलाकमा एउटा ग्वाँख भेट हुन्छ – ‘एउटा टिकट दे न ?’ मलाई रिस उठ्छ – ‘नकिनेर ! साले माग्छस् !’ अनि एउटा टिकट दिन्छु । पोष्ट बक्स हेर्न पुग्छु – ‘थुप्रै चिठ्ठिहरू खात लागेर बसेका छन् !’ अनि सबै पत्र झिकेर हातमा लिन्छु र क्याम्पसतिर लाग्छु बस चढेर । जसै जोगिन खोज्दापनि घाटा लागिहाल्छ – एउटी दाँत ङिच्याउँदै फुरुक्क पारिदिन्छे । मनमनै भन्छु – ‘आज बिक्री भएको छ, रजाई गर ! राँडी !’ अनि भाडा तिरिदिन्छु । ऊ (कण्डक्टर) पनि मौका छोपेर खुद्रा पैसा फिर्ता दिदैंन ।

बसबाट झर्ने बित्तिकै, गेटमा गधाहरू देख्छु, सोच्छु – ‘मेरा साथीहरू कुनै मान्छे रै’नछन् ! म पनि गधै हुँ !’ उनीहरू बाट तर्किन झोला हल्लाउँदै अर्कोतिर पाइला हाल्छु । पुस्तक पसलमा पुगेपछी कलम किन्छु – ‘गधाहरूलाई खल्तीमा कलम देख्नै हुँदैन !’ कहिले त दिनमा तिनपटक किन्नुपर्दछ । अनि कक्षाकोठातिर लाग्छु, कक्षामा माष्टर पढादन भन्दा लेखाउन व्यस्त हुन्छन्, झ्याउ लाग्छ – ‘लेख्ने मात्रै हो भने क्याम्पस आएर कुनै काम छैन !’ अनि निस्कन्छु, खल्तीमा भएको कलम कुन चाँहीले चट्काइसकेछ । बाहिर हावादारीहरू घाम ताप्न व्यस्त छन्, एकछिन हात घोट्दा ठिकै हुन्छ, अनि पछिल्लो चौरतिर लाग्छु, अल्छी लाग्छ र गेटबाहिर निस्केर पसलतिर फर्किन्छु, एउटा कलम किन्छु र बस चढ्छु । दिनभर पसलमा बिताउँछु । साँझ पर्ने समयमा पसल बन्द गर्छु ।

फर्कँदा उही आवारागल्ली भएर फर्कन्छु । झिंझो लागेकोले भट्टी चाहार्ने कोशिस गर्छु – प्रत्येक भट्टीमा जँड्याहा आफन्त छन्, आफन्तको अगाडी के जाँड खानु । अनि अर्कोमा छिर्छु – झनै त्यसमा त मान्यहरू छन् । तर्केर, तर्सेर भाग्छु र अड्डा भट्टीमा जान्छु, मन नलागि नलागि जाँड तान्न थाल्छु – ‘हेर त एक्लै खान सकेको ?’ भन्दै भाग खोज्छन् – अड्डावालाहरू । नचाहि नचाहि मुर्गा बन्छु, जाँडको स्वाद हटाउन ल्वाङ्ग सुकमेल मुखमा चपाउँदै घरतिर लाग्छु । कोहि देखेकी तर्सिन्छु – जाँड खाएको थाहा पाए भने ?’ जति जँड्याहा भएपनि डराउनै पर्ने ।

पूनः कोठामा छिर्छु – ‘खाना खान आइज ?’ ‘खान मन छैन !’ भन्दै ढोका ठेप्छु, छेस्किनी घोट्छु, कुर्सीमा बसेर टेबुल चियाउँछु । टेबुलमा भएका सब चिज मलाई खिज्याउँछन् । म सोच्छु चिठ्ठीको प्रत्युत्तर लेख्नुपर्ने छ – अनि कलम कापी लिएर टोलाउँछु, तर घडी गिज्याउँछ – ‘मेरो सुत्ने समय भइसकेको रहेछ ।‘ क्यासेट बजाउँछु, बत्ती निभाउँछु र बिस्तारामा पल्टिन्छु । विचार गर्छु – ‘मेरो एकदिनको दिनचर्या !’

– २०५४-११-२६ मंगलबार ड्रिमल्याण्ड, पोखरा – ८

बाटो समर्पणको

‘बाटो समर्पणको’ कुनै मनगढन्ते शिर्षक होइन यो, यो त उसले सदादिन बताउने गर्दछ । ऊ भन्दथ्यो – ‘सनीमा, हामी एकअर्काबाट छुट्टियौं भनें म सपर्णको बाटो अपनाउने छु ?’ तर कस्तो समर्पणको बाटो हो – ऊ त्यसबारे बताउँदैन, म नारी भएर पनि नारी स्वाभावको छुइन, र उसको त्यो साहित्यिक भाषा म बुझ्ने कोशिस गर्दछु – तर सक्तिन । नियति भयङ्कर हुन्छ – राक्षस जस्तो (सायदः० । समयको परिवर्तनसँगै म वाध्यवश चन्द्रबाट छुट्टिएर केहि समयको लागि बाहिर जानुपर्ने भयो । केहि समयको लागि विदा लिनुभन्दा अघि म उसँग बसेर कुरा गरने कोशिस गर्छु । ऊ चुप बसेको छ, म कुरा झिक्छु – ‘चन्द्र ! अब केहि समय बाहिरिनु छ, प्लिज ! केहि कुरा त गर न ?’ ऊ भन्छ – ‘सनीमा ! आखिर त्यही भयो जुन मैले कल्पना गरेको थिएँ । अब तिमी नआईञ्जेल समर्पणको बाटो अपनाउने छु ! जब तिमी मेरि हुन्छ्यौ, तब यो समर्पणको बाटोले सार्थकता पाउनेछ । तिमी यदी फर्किनौ भनेपनि म यो समर्पणको बाटो अन्तसम्म पनि छोड्दिन !’ तर म उसको कुरा बुझ्न सक्तिन थिएँ । अन्तमा उसले मेरो तर्फबाट रगत उपहार माग्यो – प्रेमिका भएको नाताले मैले अस्वीकार कसरि गर्नु प्रेमीको प्रस्ताव, औंलामा सानो पिनले कोप्छु – दुख्छ, रगत आउँछ र उसले एउटा कपडाको टुक्रा रगतले भिजाउँछ अनि प्लास्टिकले बेर्छ तत्पश्चात उसले मेरो औंलामा औंठी लगाइदिन्छ । म औंला च्यापिरहेको हुन्छु, उसले मेरो दुखाइमा चासो लिँदैन, मात्र मेरो हातमा चुम्वन गर्छ, म संयमित हुन खोज्छु – तर सक्तिन, आँखा अश्रुहरूले रसिला भइसकेका छन् – मात्र रुन सकिरहेकी छैन म ! पूनः ऊ चुपचाप बस्छ, म पनि उसको साथमा गएर बस्छु, उसको काँधमा आफ्नो सिर अड्याएर केहि प्रश्न गर्छु – ‘मेरो पत्रको जवाफ त दिन्छौ होला नि !’ ऊ मात्र ‘दिन्छु’ भन्छ ।

उसँग छुट्टिएर टाढा बसेकी छु, झण्डै डेढ वर्ष बितेछ । उसले पत्र पठाइरहन्छ, म पनि उसलाई पत्र लेखिरहेकी छु, पठाइरहेकी छु । उसको पत्र पढ्दा ऊ केही मात्रामा बदलिएको छ, केहि नयाँ र अचम्मका कुराहरू लेख्छ – जुन म बुझ्दिन तर उसले पत्रको अन्तिममा ‘समर्फणको बाटो’ लेखेको छ, म त्यसैमा चित्र बुझाउँछु । आजकाल उसको पत्रमा उसले केहि कविता समावेश गर्ने गर्छ – प्रायः कविताको शिर्षक रहन्छ – ‘समर्पणको बाटो; सनीमा र तिमी’

धेरै समयपछी उसले पत्रिकामार्फत आफ्नो समर्पणको बाटो प्रकाशित गर्दछ, मलाई कवि मन पर्दैन, कवि प्रायः दरिद्रतामा बाच्ने गर्छन, त्यसैले मैले पहिलेदेखिनै कविहरूलाई तिरस्कार गर्ने गरेकी छु, मलाई कविसँग आफ्नो कोमल जीवन गुजार्ने रहर रत्तीभर छैन । चन्द्र कवि भइसकेको छ, म उसको पत्र बुज्दिन, देखावटीमा ‘समर्पणको बाटो’ मात्र बुझ्छु, म उसको पत्रबाट टाढा भाग्ने प्रयाशः गर्दछु । अन्तमा उसलाई म धोका दिएर प्रवासमा नै विवाह गर्दछु – मेरो श्रीमान धनी छ, राम्रो छ, उसँग गाडी छ – चिल्लो गाडी, चारतले बिल्डिङ्ग छ, दुई-चार वटा फैक्ट्री छ, मलाई केही दुःख छैन । आजकाल उसले पत्र लेख्दैन, तर पत्रिकामा उसका लेखहरू, कविताहरू छापिइ नै रहेका छन् – उसको लेखको अन्तमा सधैं ‘समर्पणको बाटो’ लेखिएको हुन्छ ।

मैले विवाह गरेको कुरा उसलाई थाहा छैन । पूर्व स्मृतिको त्यो स्थानमा म जान्छु, जहाँ उसको घर छ । ढोकामा नै ‘समर्पणको बाटो’ लेखिएको छ, ऊ दाह्री जुँगा ठुस्स पालेर लेख्न व्यस्त छ । म उसलाई वास्तविकता बताउँछु, ऊ हतासिन्छ अनि एउटा पोको दिन्छ – ‘समर्पणको बाटो’ । दुई दिनपछी म थाहा पाउँछु – उसले त आत्महत्या गरेछ – कायर रहेछ । उसको सम्मान हुन्छ ‘समर्पणको बाटो’ उसको पहिचान भइसकेको रहेछ, तर मलाई दुःख छैन – किनकी ऊ कवि हो !

– २०५४-१२-२३ रामनवमी, ड्रिमल्याण्ड, पोखरा – ८

यात्रा परियात्रा

मानसपटलमा ती कुराहरू दोहोरिएर आउँछ – मलाई काठमाण्डौं जानुपर्ने थियो । नाइट बसको एउटा सिटमा थकान महसुस गर्दै थन्किन्छु, एउटा अपरिचित आएर मसँगै बस्छ । सायदः उसले पनि काठमाण्डौं पुग्नसम्मको लागि त्यो सिटमा अधिकार प्राप्त गरेको छ – मैले जस्तै । बस्न नपाउँदै उसले म माथि प्रश्न सोझ्याउँछ, म उत्तर बङ्ग्याउँछु । ऊ केहि क्षण चुप लाग्छ, बस गुड्न थाल्छ ।

बिजयपुर आइनपुग्दै उसले खल्तीबाट खैनीको डिब्बा निकाल्छ अनि सोध्छ – ‘खैनी खानुहुन्छ की?’ म मुण्टो बटार्दै उत्तर दिन्छु – ‘नाई, म खैनी खाने गर्दिन !’ ऊ असहमतिपूर्वक आफ्नो मुखमा खैनी राख्छ अनि झ्याल खोलेर थुक्छ, अनि गीत गाउन थाल्छ, तर दुर्भाग्य उसको गीत सुनिदिने कोही छैनन् – त्यहाँ । उसले पूनः म माथि प्रश्न तेर्साउँछ – ‘कहाँसम्म पुग्नुहुन्छ ?’ म ‘पैसा सकिञ्जेलसम्म यही सिटमा बस्नेछु ?’ भनेर भन्छु, ऊ रनभुल्लमा पर्छ, उसको शंका हटाउन भन्छु – ‘काठमाण्डौं !’ ऊ आफूलाई प्रथमपटक काठमाण्डौं जाने कुरा बताउँछ अनि डिल्लीबजार पुग्नुपर्ने बताउँछ । म चुपचाप सुनिदिन्छु, बेलाबखतमा सहमतिपूर्वक उसलाई फुरुक्क परिहाल्ने बनाइटोपल्छु । ऊ आफ्नो नाउँ अर्जुन भन्छ, अनि मेरो बारेमा केहि भन्ने आग्रह गर्दछ । म भन्छु – ‘नाम जीवन्त हो; घर पाल्पा, तानसेन; अनि अफिसको कामले जानलागेको’ भन्दै सम्पूर्ण झुठ बोल्छु, ऊ विश्वास गर्दछ । हुन त यात्रामा प्रायः म आफ्नो नाउँ ठेगाना आदी छद्म बताउँछु । त्यसपछी ऊ मलाई जीवनको केहि रमाइलो, स्मरणीय कुरा गर्न आग्रह गर्दछ । म आफूसँग त्यस्तो रमाइलो केही नभएको बताउँछु । तर ऊ झनै आग्रह गर्दछ, कन्चट तातेर आउँछ, झनक्क रिस उठ्छ । दमौली आइपुगेको रहेछ, बस केहि बेरको लागि रोकिन्छ । म केहि लिनको लागि झर्छु, ऊ आश्चर्यित हुन्छ; तर म पूनः आइपुग्छु – हातमा क्यान बियर र स्न्याक्स लिएर । ऊ संयम बन्छ, अनि प्रश्न गर्छ – ‘ म त किन झर्नुभयो भन्ठानेको ?’ म उसलाई सरोकार राख्ने चाहना गर्दिन । बियर खोल्छु र पिउन थाल्छु – आफैं खुशी छु । मलाई मेरो साथी चाहिएको छैन यतिबेला । आफ्नै धुनमा केहि गनगुनाउँछु – झर्को लाग्छ, अनि एउटा अनाहक परिकल्पना गर्छु ‘मलाई जिन्दगी र संसारको कुनै मतलब, परवाह छैन, चाहे अरुले किन नै उडाउँछन् वा नउडाउन् !’

मुग्लिङ्ग पनि आईपुगेको रहेछ, बस रोकिन्छ । सबै खाना खान ओर्लिन्छन्, म नझर्नाले उसलाई अप्ठेरो पर्छ अनि भन्छ – ‘जाउँ खाना खान ?’ म उठ्छु र भन्छु – ‘म त यहाँ कहिल्यै खाना खाँदिन !’ अनि झर्छु । एउटा होटलकी च्वाँक देखेर उतैतिर लस्किन्छु, ऊ पनि मेरो पछी पछी आउँछ । म एउटा कुर्सी तानेर बस्दै अर्डर गर्छु – ‘बियर र एक प्लेट सेकुवा !’ ऊ खाना माग्छ हनि खान थाल्छ, म  बियर पिउन थाल्छु सितनसँग । ऊ चाँडै उठ्छ – म भन्दा अनि काउण्टरमा जान्छ । म खाइरहेको हुन्छु – ऊ पूनः म भएठाउँ आएर बस्छ । म उठ्छु र काउण्टरमा लाग्छु – बिल तिर्न खोज्दा चुक्ता भईसकेको बताउँछे – च्वाँक, म दङ्ग पर्छु र पछाडी फर्कन्छु, ऊ त्यहाँबाट हिँडिसकेछ । हातभरी सौंफको दाना भर्छु र चपाउँदै बसतिर लाग्छु । ऊ पहिलेनै त्यहाँ बसिसकेको हुन्छ – म पनि गएर बस्छु र भन्छु – ‘मेरो बिल किन तिरेको ?’ ऊ मुस्कानपूर्ण चुप बस्छ ।

म आफ्नै धुनमा गाउन थाल्छु, यद्यपी त्यहाँ कोही छैनन् – मेरो गीत सुन्ने –

‘जीवन भन्नु त यस्तै रहेछ, हर साँझहरू बसलिने गर्छन्

माया भन्नु त यस्तै रहेछ, हर प्रेमीहरू बदलिने गर्छन्’

ऊ प्रश्न गर्छन – ‘कसले गाएको हो यो गीत ?’ म झर्किन्छु – ‘मैले !’ ऊ असमञ्जस भएर पूनः सोध्छ – ‘हैन यो गीतको असल गायककार…’ म पूनः झर्कन्छु – ‘म आफैं; मैले आफैंले लेखेर आफैंले गाएको, मेरो आफ्नै सिर्जना हो यो ?’ ऊ दङ्ग पर्छ – ‘तपाईं त साहित्य पनि लेख्नुहुँदो रहेछ, हो ?’ म मुण्टो बङ्ग्याउँछु – ‘तर म कुनै साहित्यकार होइन ?’ म वाध्यवश नरम हुन्छु – ‘भाई मेरो बानी नै यस्तै छ, नरिसाउ है ?’ उसले सहमति जनायो । अनि पूनः सोध्यो – ‘कहाँ बस्नुहुन्छ नि अब गएर ?’ मेरो उत्तर थियो – ‘मेरो दाजुको कोठामा बस्छु, लगभग १७-१८ दिनपछी पोखरा फर्किन्छु !’ गफैगफमा म निदाएछु, शायदः ऊ पनि निदायो ।

ब्युँझदा, गाडी रोकिएको थियो, जुगेखोलाको त्यो विश्राम सम्भवतः डेढ दुई घण्टा लामै हुनसक्थ्यो । म उत्रिएँ र कुनामा गएर मुत्रत्याग गर्नपट्टी लागें, तल त्रिशुली सुसाउँदै बगिरहेको थियो, चिसो सिरेटोले मनलाई आनन्दित तुल्यायो अनि पूनः सिटमा गएर सुतें । ऊ ब्युँझिएको छैन ।

कसैको झकझकाइले म पूनः ब्युँझन्छु, बस अटल भएर विश्राम गरिरहेको छ, म ब्युँझाउने उही अनर्थक मित्र थियो, जो मलाई मित्र बनाउन पैसा खर्च गर्ने गर्छ । ऊ भन्छ – ‘जाँउ चिया खान !’ म सकरात्मक भएर ऊ सँगै उत्रिन्छु । अनि एउटा भट्को बेञ्चमा बस्छु, ऊ पनि सँगै आएर बस्छ, चिया आएपछी सुर्कि लगाउन सुरु गर्छौं, हामी दुवै । ऊ केहि भन्छ, म सुन्छु, म केहि भन्छु ऊ सुन्छ । यसरी चिया सकिँदासम्म ऊ र म अभिन्न मित्र भईसक्छौं । बस स्टार्ट हुन्छ, हामी बस चढ्न पुग्छौं । अनि झर्ने बेला हुँदासम्म हामी गफमै मस्त हुन्छौं । अर्थात् काठमाण्डौ आइपुग्यो । गोंगवु बसपार्कभित्र बस एक छेऊ लाएपछी म उसलाई बाथरुम गएर हात मुख धुने सल्लाह दिन्छु ।

बसपार्कबाट अर्को नगर बस चढेर हामी पूरानो बसपार्कतिर जाने निर्णय गर्छौं । ऊ काठंमाण्डौंबारे आफू अनभिज्ञ भएको कुरा दोहोर्‍याउँछ, म खसी बजार जाँदैछु भनेपछी ऊ ढुक्क हुन्छ । उसलाई त्यहाँको एउटा स्टेशनरीमा जानुपर्ने रहेछ । म उसलाई त्यहाँ छोडेर आफ्नो कोठातिर लाग्छु, विश्रामको लागि । काठमाण्डौंको यो परियात्रा मेरो लागि स्मरणीय बन्छ ।

– २०५३-०१-२५, काठमाण्डौं ।

अनावस्था

जीवनको संघर्ष अनि असिमित यात्रा

पूर्णतयाः लक्ष्यविहिन अनि निरस

प्रमको बाहुल्यता अनि बिछोडको घाउ

समयको दौडान अनि अनादृत विश्राम

केही बुझ्न नसकिने एउटा रहस्य !

आजको दिन तिम्रो मुहारसामु बसेर म केही खोज्दो थिएं, तर एकाएक तिमी मेरो सामुबाट टाढा भएर एकातिर लाग्यौ – सायदः तिम्र आफ्नै कामले । तर थाहा छैन, मैले राखेको प्रस्ताव कसरी तिमीमा विलिन भएर गयो, जुन विना उत्तरनै समयको अन्तरालमा विलिन भएछ र पनि म आशमा पर्खिरहेको छु ।

आकाश निश्चल भएपनि चारैतिरको क्षितिजमा बादलिएको छ, बुट्यान र रुखहरू उजाड भएर बसन्तको पर्खाइमा छन् । म मा पनि कसो नआउला र हरियाली, म यही आशामा बसेको छु, पर्खेको छु । चारैतिर सुनसानपूर्ण वातावरणको सिर्जना भएपनि कहीँ कतै पूर्व नेपथ्यबाट कोलाहलको वाणी सुनिन्छ, लाग्छ, त्यो कोलाहलबिच तिमी पनि मेरो लागि केही भन्ने प्रयाशः गर्दैछ्यौ ।

म यो फल्याकमाथी बसेर; विना मनस्थितिको यो भावोद्वेग तयार गर्दो छु, निरर्थक अनि निरस, जुन मेरो भावनाको वकसपत्रमा प्रायः समावेश हुने चेष्टा गर्दछ । तर म भन्छु – तिमी किन यति मुस्कुराइरहेछौ र के दुःख छ लुकाइरहेछौ ? आँखामा लजालुपन छ, ओंठमा हाँसो, कुन अवस्थामा छ्यौ अनि के प्रदर्शन गरिरहेकी छ्यौ । अनि म त विष पिएर भएपनि बाँच्नेछु, यदी तिमी आँशु पिउन सक्छ्यौ भने । जुन घाउलाई मयले निमिट्यान्न पारिसकेको छ, तिमी किन त्यसलाई बल्झाउने प्रयाशः गर्दैछ्यौ । त्यसो त भाग्य एउटा मानसिक खेल हो, किन तिमी मानसिकताबाट तृप्त भईरहेकी छ्यौ । म हेर्न चाहन्छु – यो अनावस्था हामीलाई कहाँ लाने चेष्टा गर्दछ । तर मलाई थाहा छ – ‘हामी मृत्युको आगमन कुरेर बसिरहेका छौं र बसिरहने छौं !’

‘केवल मृत्युको आगमन

कुरिरहेका छौं ………… !’

– २०५४-११-१४, पृथ्वी नारायण क्याम्पस, भिमकाली पाटन, पोखरा – १

व्यथा साथीको

समयको लामो अन्तरालपश्चातः म फेरी यो कलम कोतर्न वाध्य भएको छु । तर थाहा छैन यसपटक म के लेख्ने तयारीमा छु । शिर्षक त दिइसकेको छु ‘व्यथा साथीको’ तर जे नै भएपनि म सदा आन्तरिक सत्यको पर्दाफास तथा तितो सत्यको उद्घाटन गर्नेछु – यो निश्चय नै हो ।

कुरा दुई थरी हुन्छ – साँचो र झुठो । र यी झुठो र साँचो कुराको पनि म दुई भागमा बिभाजन गर्दछु – समय नबित्दै र समय बितिसकेपछी । हो, अहिले म सत्यको समय नवित्दै र समय बितिसकेपछीका कुराहरूलाई तुलनात्मक विवेचना गर्ने तत्परतामा छु ।

सर्व प्रथमतः समय नबित्दैको कुरोः भविष्यको त्यो पक्ष हो जहाँ हामी एक पटक सामेल भएर जीन्दगीका सम्पूर्ण घट्ना तथ्यहरूलाई पछाडी धकेल्ने कोशिस गर्दै अतीत बनाउने गर्छौं । यस्तैमा, प्रायः मानिस प्रथमतः कोही कसैसँग परिचित हुने कोशिस गर्दछ र म पनि साथीसँग परिचित हुन्छु हनि आत्मियताको जटिल भावनात्मक सम्बन्ध गाँस्न पुग्छु । ऊ साथी, तिमी साथी अनि म साथी; जरुर साथी हामी एक अर्काको नजिक भयौं र आपस्तमा सुख-दुःखको बाँडफाँड गर्न सक्ने भयौं – होइन त ? तर होइन – मित्रता भनोक एउटा स्वार्थ हो; यदि कुनै पुरुष मित्र छ भने जीवनका केहि महत्वपूर्ण कुराहरूमा सहयोग र एकअर्कालाई चुस्ने वा धुत्ने स्वार्थ हुन्छ – अथवा यस्तै अन्य कुनै स्वार्थ । यदि कुनै स्त्री मित्र छ भने उनीसँग प्रेम गर्ने, जीवनसाथी बनाउने वा जवानीको स्वाद चाख्ने स्वार्थ वा अन्य यस्तै कुनै स्वार्थ हुन्छ । स्वार्थ जहाँ पनि हुन्छ – समलैङ्गिक मित्र वा विपरित लिङ्गी जुनैमा पनि ।

मेरो मनमा अर्को पक्षपनि देखिन्छ – समय बितिसकेपछीको कुरोः यो अतीतको त्यो पक्ष हो, जहाँ हामीले स्वार्थपुर्ती गरिसकेका हुन्छौं । स्त्रीसँग उसको कौमारित्व वा सतीत्व, पुरुषसवग उसको अस्तित्व भंग गरिन्छ । हाम्रो निहित स्वार्थ पूरा गरिन्छ, हामी उनलाई उनीहरूलाई आफ्नो जीवनबाट टाढा राख्छौं वा राख्न चाहन्छौं – जुन अन्तमा मात्र गएर पश्चातापमा परिणत हुने गर्दछ ।

मलाई थाहा छ – यहाँ मैले प्रसँग पूर्‍याएर लेख्न सकेको छैन र म लेक्दिन पनि । जे होस् सत्य तितै हुन्छ । मैले धेरै नै पटक समयको आग्रह गरिसकेको छु । हो, समय अति मुल्यवान छ – महत्वपूर्ण छ ! तर होइन साथी समयको हत्या पनि हुन्छ, समयलाई एकै सेकेण्डमा लाखौं कोर्रा हानिएको पनि मलाई थाहा छ । किनकी समय, जो आफ्नो गति निर्धारण गर्ने गर्छ, स्वयम् समय आफैंले आफ्नो हत्या गर्छ – मेरो आडमा पनि एउटा घडी छ – खच् खच् गर्दै कराउँदैछ । साथी, यो खच् खच् को आवाज सुनाउँदै समयलाई घडीले कोर्रा हानेर अघि सार्दैछ । त्यसैले यसबखत हामीले केही गर्न सकिरहेका छौं र ? छैनौं ! अनि गर्नेपनि छैनौं, हामीभन्दा पनि झनै मैले त केही गर्न सकेकै छैन । तरपनि समयले हामीलाई फुटेको काँच बनाउँछ, जुन कहिल्यै जोडिने गर्दैन – समाज र विश्वास अनि विश्वसामु !

त्यसैले भन्छु साथी – हाम्रो मित्रतामा गर्व गर्नुपर्दैन ! किनकी, अब हाम्रो मित्रता भित्रभित्रै टुक्रिइसकेको छ । समय ! त्यो भन्दा अगावै नै हामीलाई छोडेर टाढा जानेछ, हामी समयभन्दा भिन्न हुनेछौं । हामी पूनः मित्रतामा बाँधिने छैनौं ! त्यसैले म यो कलम यही बन्द गर्द्छु – किनकी यहाँ कहिँपनि संभाव्य क्रमिकता छैन ।

लौ त !

– २०५४-१०-२६, पृथ्वी नारायण क्याम्पस, पोखरा – १

कथा मुहारचित्रको

धुमधामसँग पसलमा बस्दै गरेको हुन्छु, आज एक साता भयो बिक्री व्यापार भएको छैन । त्यसो त कहिलेकाँही एक महिनासम्मै चुप लागेर बस्नु नपरेको होइन । तर यो त पर्यटकहरूको समय अर्थात मौसम थियो । त्यसै बस्न अल्छी लाग्छ र एउटा कागजमा केहि कोर्न थाल्छु । यस्तैमा एउटा मानिस आइपुग्छ र एउटा मुहारचित्र बनाउनुपर्ने कुरा सुनाउँछ । मुल्य तोकिन्छ, अड्भान्स लिन्छु, फोटो समाउँछु अनि एक हप्तापछी आउन भन्छु ।

केहि नभएपनि दुइचार दिन चिया खाने पैसा भयो नाई भन्दै फोटोलाई कागजमा उतार्ने कोशिस गर्छु, एकपटक मेट्छु पूनः बनाउँछु, मिल्दैन, मेट्छु । सोच्छु – ‘हाम्रो उद्देश्य ग्राहकको सन्तुष्टी !’ पूनः प्रयास गर्दछु, मलाई मुहारचित्र बनाउन त्यति राम्रोसँग चाँही आउँदैन, तरपनि आफैंमा सुधार गर्नुपर्दछ, त्यसैले कोशिस गरिरहेको छु । बल्ल बल्ल आकृतिमा सुधार आउँछ, मुहारचित्रमा अभिनय झल्किन्छ – तर चित्त बुझ्दैन । मलाई जस्ताको तस्तै बनाउने तरिका आउँछ, खाली हातलाई खेलाउनको लागि कोशिस मात्र गरेको हुँ । अनि फोटो बोकेर फोटोकपी गर्न जान्छु – इन्लार्ज गर्छु चाहिँदो साइजमा । र फर्कन्छु, मुनि कार्बन राखेर छाप्छु, जस्ताको तस्तै आकृती आएपछी ढुक्क हुन्छु । अनि रंग घोट्न थाल्छु, चाहेजस्तो मुहार चित्र तयार हुन्छ । यो सबै काम चानचुन चार घण्टामा सिद्धिएछ, तर उसलाई मैले एक हप्तापछी आउन भनेको छु ।

सरकारी अफिसमा पाँच मिनेटमा हुने काम पाँच दिन लाग्ने नियति जस्तै म कहाँ त्यस्तै भएको छ । यदी चाँहिदो पैसा अर्थात् रेट भन्दा बढी दिएको भए, दुई घण्टामा तयार हुन्थ्यो । तर सोझो हिसाबमा जानेलाई यस्तै हुन्छ । नेपालको घुस खाने नियति टड्कारो छ र घुस ख्वाउने पनि पछी हट्दैनन्, भनेजति दिईहाल्छन्, लाटासोझा सधैं पछि पार्छन् । ऊ अब एक हप्ता पछी मात्र आउनेछ ।

– २०५४-१२-०९, पोखरा – ८, नेपाल