दिनचर्या एकदिनको

ढोका ढेप्छु, छेस्किनी घोट्छु, कुर्सीमा बसेर टेबुल चियाउँछु । थुप्रै कुराहरू छन् टेबुलमा – सजावट देखि पुरस्कारसम्म, कलमदेखि धारिला हतियारसम्म, आफ्ना देखि अर्काको फोटोसम्म । किताब पल्टाउँछु – घडी जिस्क्याउँछ, ओहो ! म पसल जानुपर्ने समय भइसकेको रहेछ, लगाइराखेको खोल झिकेर अर्को खोल ओढ्छु, चाबी लिन्छु, हिँड्छु । निस्कने बेलामा ‘चिया खान’ बोलाइन्छ – खान्न भन्छु, गेट खोल्छु, नाम नचिनेका परिचित प्रश्न तेर्साउँछन् – ‘पसलतिर जाने ?’ मुण्टो हल्लाउँछु । एकोहोरो हिँड्छु, थुप्रै नचिनेका परिचित प्रश्न तेर्साउँछन् – म मुण्टो तेर्साउँछु, एकोहोरो हिँड्छु । अड्डा आईपुग्छ, अड्डा अर्थात् आवारा अड्डा, सबै ठूला आँखा पारेर हेर्छन्, म त्यतै लाग्छु – ‘चिया’ अर्डर हुन्छ । बेञ्चमा बस्छु – टेबुल चियाउँछु, खाली गिलास गिज्याउँछ – ‘दुनियाले जिऊ तताइसके !’ छेऊमा बस्नेले धुँवा उडाउँछ – झिंझो लाग्छ, हतार हतार चिया सक्छु, मुर्गा बन्छु – सबैको पैसा तिरेर रवाफ देखाउँछु, एउटा माग्छ – ‘सुर्ती’ । म सुर्ती खान्न तर किन्छु, उसको हातमा थमाउँछु अनि हिँड्छु । मान्य व्यक्ति भेट हुन्छ – गोदाममा थन्केर रहेको नमस्कार खर्च गर्छु, अर्को मित्र भेट हुन्छ – हात मिलाउन आउँछ, जाडाको समयमा हात निकाल्न वाध्य हुन्छु । ‘हतार छ’ भन्दै उम्किन्छु, मन्दिर आइपुग्छ – अप्रत्यक्ष दर्शन गर्छु र लमकलमक गर्दै हतारिन्छु, घरबाट निस्केर आधा घण्टा भइसक्दा पनि पसल पुगेको छैन । वास्तवमा दुइ-तिन मिनेटको बाटो हो त्यो ।

मुस्किलले पसल पुग्छु, पसलको पिंढी फोहोर भएको छ, पसल एकपटक हाँस्छ – व्यङ्गात्मक हाँसो । थुप्रै दिन भयो – बिक्रिपट्टा ठप्प छ, चाबी खोल्ने कोशिस गर्छु – चाबी खिया लागेको छ – भन्छ ‘ग्राहक छैनन् ! मेरो आराम किन बिथोल्छस् !’ म भन्छु – ‘आज व्यापर भए तलाईं राख्दिन, अर्को ल्याउँछु ?’ चाबी खित्का छोडेर हाँस्छ – ‘तैंले फेर्छु भनेको पनि वर्षौं भइसक्यो ?’ बल्ल तल्ल करले चाबी खुल्छ, बत्ती बाल्छु, धुप बाल्छु, अनि कुचो समाउँछु – कुचो व्यङ्ग्य गर्छ – ‘ग्राहक आयो !’ ‘मलाई थाहा छ – आज पनि ग्राहक आएन भने दशदिनसम्म तँलाई छुदैंछुन्न ?’ अनि भुईं घोट्न थाल्छु – मानपाथी भरिने कसिङ्गर निस्कन्छ, एउटा कुनमा फाल्छु, कसिङ्गरको व्यङ्ग्य ‘बल्ल तल्ल भित्र पसेको, बाहिर पठाइहाल्यो ! पख् तँलाई !’ अनि उड्छ – नाकभरि आँखाभरी उडेर आउँछ, एकछिन रनभुल्ल पार्छ ।

पसलभित्र सामान अस्तव्यस्त छ, सबै व्यङ्ग्य गर्छन् । मलाई अति अल्छी लाग्छ, चिया पसलमा पुग्छु । एउटा आईपुग्छ ठग्न – ‘के छ साथी ?’ भन्दै एक कप चिया ठग्छ – हिँड्छ । पारिघरबाट एउटीले आँखा सन्काउँछे, म ‘थु’ गरेर हिँड्छु ।

आउँछ, एउटा गधा – ‘नमस्कार’ गर्दै, पूनः गोदाम रित्तो हुन्छ । आखिर मेरो आम्दानी हो मालिस गर्नैपर्छ । अनि सोध्न थाल्छ – ‘यसको कति ?’ भन्छु कसेर – ‘…. हजार !’ ऊ आनेकाने गर्छ, कराउँछ – ‘महङ्गो भयो ! म लाँदिन !’ आखिरमा सोच्छु – ‘बिक्री नभएको धेरै भयो !’ अनि कुत मोलाइमा असी प्रतिशत घटेर लैजान्छ – ‘… सय’ मा । ऊ मख्ख छ, म दिक्क छु, ऊ भन्छ – ‘यु आर ग्रेट !’ ‘यु अल्सो !’ म भन्छु । ऊ हात हल्लाउँदै जान्छ, म खिन्न बस्छु । केहिबेरपछी झोला बोकेर आइपुग्छ – ‘एउटा विद्यार्थी भनाउँदो !’ नमस्कार ठोक्छ – मुण्टो नुगाएर नमस्कार स्वीकार गर्छु, भन्छ – ‘चाँडो सिकाइदिनु पर्‍यो !’ म आफैं त तेह्र वर्ष लगाएर राम्रोसँग जानेको छैन, उसलाई छ-सात महिनामा पुरै सिक्नुपर्ने ! मलाई दिक्क लाग्छ अनि भन्छु – ‘ल यो बनाउ !’ र दुइ-चार भाँडा अगाडी ठड्याइदिन्छु । चाँडै सिक्ने लगनशील उसलाई एउटा भाँडो बनाउन राम्रोसँग आउँदैन, अनि आँफै सिसाकलम समातेर बनाउँछु र भन्छु – ‘फेरी बनाउ !’ मलाई थाहा छ विद्यार्थीलाई कस्तो व्यवहार गर्नुपर्छ । ऊ भन्छ – ‘हजुर र म एकदिन मेरो होटलमा जाँउ न ?’ मलाई फुरुक्क पार्छ, म फुरुक्क पर्छु, शायदः उसलाई पनि मास्टर तह लगाउने उपाय आउँछ ।

त्यही भाँडोमा एक घण्टा बिताएर भन्छु – ‘ल बाँकी भोली !’ अनि पूनः भन्छू – ‘मेरो क्याम्पस जाने बेला पनि हुन लाग्यो !’ अनि बन्द गर्छु – पसल । अनि लाग्छु उही बाटो, त्यसलाई बाटो भन्नुभन्दा पनि आवारा गल्ली भन्नु ठिक र उचित छ । ती अड्डावालाहरू आँखा तर्दै इशारा गर्छन्, म हतार छ भन्दै हतारिन्छु । हुन त हतार नै हुन्छ, तर प्रथम कक्षा छोड्ने बानी बसिसकेको छ, अरुलाई सुनाउँछु – ‘जति छिटो गरेपनि भ्याउँदिन !’ सरिफ बन्छु । नुहाइ, धुवाइ गरेर समय बिताएर प्रथम कक्षा नभ्याउने हुन्छु, अनि खाना मुकभित्र घुसारेर झोला बोक्दै निस्कन्छु । झोला व्यङ्ग्य गर्छ – ‘झोला बोक्दैमा पढन्दास भइदैंन ?’ हुन पनि झोलामा एउटा रफ गर्ने पुस्तिका बाहेक अन्य वाहियात् चिजहरू छन् । जे होस् अरूले पढ्छ नै भण्ठान्छन् – खुशी नै छु ।

बस चढ्ने ठाउँमा, थुप्रै कुरेर बसेका छन् । उनीहरूलाई भाडा तिरिदिने एक मान्छेको खाँचो छ, मलाई रिस उठ्छ – ‘दिनदिनै तिर्न सक्दिन ?’ अनि लाग्छु टेक्सी स्ट्याण्डतिर, ऊ प्यासेञ्जर नभरिएसम्म कुराउने पक्षमा छ, शायदः रिजर्व लाने आशा गर्दो हो । म उसको मर्म बुझ्छु, तर चुप बस्छु, जेनतेन भरिन्छ गाडी, टेक्सी कुद्छ, म आधा बाटोमा उत्रिन्छु र हुलाकतिर लिपिबद्ध पाईला चाल्छु । हुलाकमा एउटा ग्वाँख भेट हुन्छ – ‘एउटा टिकट दे न ?’ मलाई रिस उठ्छ – ‘नकिनेर ! साले माग्छस् !’ अनि एउटा टिकट दिन्छु । पोष्ट बक्स हेर्न पुग्छु – ‘थुप्रै चिठ्ठिहरू खात लागेर बसेका छन् !’ अनि सबै पत्र झिकेर हातमा लिन्छु र क्याम्पसतिर लाग्छु बस चढेर । जसै जोगिन खोज्दापनि घाटा लागिहाल्छ – एउटी दाँत ङिच्याउँदै फुरुक्क पारिदिन्छे । मनमनै भन्छु – ‘आज बिक्री भएको छ, रजाई गर ! राँडी !’ अनि भाडा तिरिदिन्छु । ऊ (कण्डक्टर) पनि मौका छोपेर खुद्रा पैसा फिर्ता दिदैंन ।

बसबाट झर्ने बित्तिकै, गेटमा गधाहरू देख्छु, सोच्छु – ‘मेरा साथीहरू कुनै मान्छे रै’नछन् ! म पनि गधै हुँ !’ उनीहरू बाट तर्किन झोला हल्लाउँदै अर्कोतिर पाइला हाल्छु । पुस्तक पसलमा पुगेपछी कलम किन्छु – ‘गधाहरूलाई खल्तीमा कलम देख्नै हुँदैन !’ कहिले त दिनमा तिनपटक किन्नुपर्दछ । अनि कक्षाकोठातिर लाग्छु, कक्षामा माष्टर पढादन भन्दा लेखाउन व्यस्त हुन्छन्, झ्याउ लाग्छ – ‘लेख्ने मात्रै हो भने क्याम्पस आएर कुनै काम छैन !’ अनि निस्कन्छु, खल्तीमा भएको कलम कुन चाँहीले चट्काइसकेछ । बाहिर हावादारीहरू घाम ताप्न व्यस्त छन्, एकछिन हात घोट्दा ठिकै हुन्छ, अनि पछिल्लो चौरतिर लाग्छु, अल्छी लाग्छ र गेटबाहिर निस्केर पसलतिर फर्किन्छु, एउटा कलम किन्छु र बस चढ्छु । दिनभर पसलमा बिताउँछु । साँझ पर्ने समयमा पसल बन्द गर्छु ।

फर्कँदा उही आवारागल्ली भएर फर्कन्छु । झिंझो लागेकोले भट्टी चाहार्ने कोशिस गर्छु – प्रत्येक भट्टीमा जँड्याहा आफन्त छन्, आफन्तको अगाडी के जाँड खानु । अनि अर्कोमा छिर्छु – झनै त्यसमा त मान्यहरू छन् । तर्केर, तर्सेर भाग्छु र अड्डा भट्टीमा जान्छु, मन नलागि नलागि जाँड तान्न थाल्छु – ‘हेर त एक्लै खान सकेको ?’ भन्दै भाग खोज्छन् – अड्डावालाहरू । नचाहि नचाहि मुर्गा बन्छु, जाँडको स्वाद हटाउन ल्वाङ्ग सुकमेल मुखमा चपाउँदै घरतिर लाग्छु । कोहि देखेकी तर्सिन्छु – जाँड खाएको थाहा पाए भने ?’ जति जँड्याहा भएपनि डराउनै पर्ने ।

पूनः कोठामा छिर्छु – ‘खाना खान आइज ?’ ‘खान मन छैन !’ भन्दै ढोका ठेप्छु, छेस्किनी घोट्छु, कुर्सीमा बसेर टेबुल चियाउँछु । टेबुलमा भएका सब चिज मलाई खिज्याउँछन् । म सोच्छु चिठ्ठीको प्रत्युत्तर लेख्नुपर्ने छ – अनि कलम कापी लिएर टोलाउँछु, तर घडी गिज्याउँछ – ‘मेरो सुत्ने समय भइसकेको रहेछ ।‘ क्यासेट बजाउँछु, बत्ती निभाउँछु र बिस्तारामा पल्टिन्छु । विचार गर्छु – ‘मेरो एकदिनको दिनचर्या !’

– २०५४-११-२६ मंगलबार ड्रिमल्याण्ड, पोखरा – ८