मानसपटलमा ती कुराहरू दोहोरिएर आउँछ – मलाई काठमाण्डौं जानुपर्ने थियो । नाइट बसको एउटा सिटमा थकान महसुस गर्दै थन्किन्छु, एउटा अपरिचित आएर मसँगै बस्छ । सायदः उसले पनि काठमाण्डौं पुग्नसम्मको लागि त्यो सिटमा अधिकार प्राप्त गरेको छ – मैले जस्तै । बस्न नपाउँदै उसले म माथि प्रश्न सोझ्याउँछ, म उत्तर बङ्ग्याउँछु । ऊ केहि क्षण चुप लाग्छ, बस गुड्न थाल्छ ।
बिजयपुर आइनपुग्दै उसले खल्तीबाट खैनीको डिब्बा निकाल्छ अनि सोध्छ – ‘खैनी खानुहुन्छ की?’ म मुण्टो बटार्दै उत्तर दिन्छु – ‘नाई, म खैनी खाने गर्दिन !’ ऊ असहमतिपूर्वक आफ्नो मुखमा खैनी राख्छ अनि झ्याल खोलेर थुक्छ, अनि गीत गाउन थाल्छ, तर दुर्भाग्य उसको गीत सुनिदिने कोही छैनन् – त्यहाँ । उसले पूनः म माथि प्रश्न तेर्साउँछ – ‘कहाँसम्म पुग्नुहुन्छ ?’ म ‘पैसा सकिञ्जेलसम्म यही सिटमा बस्नेछु ?’ भनेर भन्छु, ऊ रनभुल्लमा पर्छ, उसको शंका हटाउन भन्छु – ‘काठमाण्डौं !’ ऊ आफूलाई प्रथमपटक काठमाण्डौं जाने कुरा बताउँछ अनि डिल्लीबजार पुग्नुपर्ने बताउँछ । म चुपचाप सुनिदिन्छु, बेलाबखतमा सहमतिपूर्वक उसलाई फुरुक्क परिहाल्ने बनाइटोपल्छु । ऊ आफ्नो नाउँ अर्जुन भन्छ, अनि मेरो बारेमा केहि भन्ने आग्रह गर्दछ । म भन्छु – ‘नाम जीवन्त हो; घर पाल्पा, तानसेन; अनि अफिसको कामले जानलागेको’ भन्दै सम्पूर्ण झुठ बोल्छु, ऊ विश्वास गर्दछ । हुन त यात्रामा प्रायः म आफ्नो नाउँ ठेगाना आदी छद्म बताउँछु । त्यसपछी ऊ मलाई जीवनको केहि रमाइलो, स्मरणीय कुरा गर्न आग्रह गर्दछ । म आफूसँग त्यस्तो रमाइलो केही नभएको बताउँछु । तर ऊ झनै आग्रह गर्दछ, कन्चट तातेर आउँछ, झनक्क रिस उठ्छ । दमौली आइपुगेको रहेछ, बस केहि बेरको लागि रोकिन्छ । म केहि लिनको लागि झर्छु, ऊ आश्चर्यित हुन्छ; तर म पूनः आइपुग्छु – हातमा क्यान बियर र स्न्याक्स लिएर । ऊ संयम बन्छ, अनि प्रश्न गर्छ – ‘ म त किन झर्नुभयो भन्ठानेको ?’ म उसलाई सरोकार राख्ने चाहना गर्दिन । बियर खोल्छु र पिउन थाल्छु – आफैं खुशी छु । मलाई मेरो साथी चाहिएको छैन यतिबेला । आफ्नै धुनमा केहि गनगुनाउँछु – झर्को लाग्छ, अनि एउटा अनाहक परिकल्पना गर्छु ‘मलाई जिन्दगी र संसारको कुनै मतलब, परवाह छैन, चाहे अरुले किन नै उडाउँछन् वा नउडाउन् !’
मुग्लिङ्ग पनि आईपुगेको रहेछ, बस रोकिन्छ । सबै खाना खान ओर्लिन्छन्, म नझर्नाले उसलाई अप्ठेरो पर्छ अनि भन्छ – ‘जाउँ खाना खान ?’ म उठ्छु र भन्छु – ‘म त यहाँ कहिल्यै खाना खाँदिन !’ अनि झर्छु । एउटा होटलकी च्वाँक देखेर उतैतिर लस्किन्छु, ऊ पनि मेरो पछी पछी आउँछ । म एउटा कुर्सी तानेर बस्दै अर्डर गर्छु – ‘बियर र एक प्लेट सेकुवा !’ ऊ खाना माग्छ हनि खान थाल्छ, म बियर पिउन थाल्छु सितनसँग । ऊ चाँडै उठ्छ – म भन्दा अनि काउण्टरमा जान्छ । म खाइरहेको हुन्छु – ऊ पूनः म भएठाउँ आएर बस्छ । म उठ्छु र काउण्टरमा लाग्छु – बिल तिर्न खोज्दा चुक्ता भईसकेको बताउँछे – च्वाँक, म दङ्ग पर्छु र पछाडी फर्कन्छु, ऊ त्यहाँबाट हिँडिसकेछ । हातभरी सौंफको दाना भर्छु र चपाउँदै बसतिर लाग्छु । ऊ पहिलेनै त्यहाँ बसिसकेको हुन्छ – म पनि गएर बस्छु र भन्छु – ‘मेरो बिल किन तिरेको ?’ ऊ मुस्कानपूर्ण चुप बस्छ ।
म आफ्नै धुनमा गाउन थाल्छु, यद्यपी त्यहाँ कोही छैनन् – मेरो गीत सुन्ने –
‘जीवन भन्नु त यस्तै रहेछ, हर साँझहरू बसलिने गर्छन्
माया भन्नु त यस्तै रहेछ, हर प्रेमीहरू बदलिने गर्छन्’
ऊ प्रश्न गर्छन – ‘कसले गाएको हो यो गीत ?’ म झर्किन्छु – ‘मैले !’ ऊ असमञ्जस भएर पूनः सोध्छ – ‘हैन यो गीतको असल गायककार…’ म पूनः झर्कन्छु – ‘म आफैं; मैले आफैंले लेखेर आफैंले गाएको, मेरो आफ्नै सिर्जना हो यो ?’ ऊ दङ्ग पर्छ – ‘तपाईं त साहित्य पनि लेख्नुहुँदो रहेछ, हो ?’ म मुण्टो बङ्ग्याउँछु – ‘तर म कुनै साहित्यकार होइन ?’ म वाध्यवश नरम हुन्छु – ‘भाई मेरो बानी नै यस्तै छ, नरिसाउ है ?’ उसले सहमति जनायो । अनि पूनः सोध्यो – ‘कहाँ बस्नुहुन्छ नि अब गएर ?’ मेरो उत्तर थियो – ‘मेरो दाजुको कोठामा बस्छु, लगभग १७-१८ दिनपछी पोखरा फर्किन्छु !’ गफैगफमा म निदाएछु, शायदः ऊ पनि निदायो ।
ब्युँझदा, गाडी रोकिएको थियो, जुगेखोलाको त्यो विश्राम सम्भवतः डेढ दुई घण्टा लामै हुनसक्थ्यो । म उत्रिएँ र कुनामा गएर मुत्रत्याग गर्नपट्टी लागें, तल त्रिशुली सुसाउँदै बगिरहेको थियो, चिसो सिरेटोले मनलाई आनन्दित तुल्यायो अनि पूनः सिटमा गएर सुतें । ऊ ब्युँझिएको छैन ।
कसैको झकझकाइले म पूनः ब्युँझन्छु, बस अटल भएर विश्राम गरिरहेको छ, म ब्युँझाउने उही अनर्थक मित्र थियो, जो मलाई मित्र बनाउन पैसा खर्च गर्ने गर्छ । ऊ भन्छ – ‘जाँउ चिया खान !’ म सकरात्मक भएर ऊ सँगै उत्रिन्छु । अनि एउटा भट्को बेञ्चमा बस्छु, ऊ पनि सँगै आएर बस्छ, चिया आएपछी सुर्कि लगाउन सुरु गर्छौं, हामी दुवै । ऊ केहि भन्छ, म सुन्छु, म केहि भन्छु ऊ सुन्छ । यसरी चिया सकिँदासम्म ऊ र म अभिन्न मित्र भईसक्छौं । बस स्टार्ट हुन्छ, हामी बस चढ्न पुग्छौं । अनि झर्ने बेला हुँदासम्म हामी गफमै मस्त हुन्छौं । अर्थात् काठमाण्डौ आइपुग्यो । गोंगवु बसपार्कभित्र बस एक छेऊ लाएपछी म उसलाई बाथरुम गएर हात मुख धुने सल्लाह दिन्छु ।
बसपार्कबाट अर्को नगर बस चढेर हामी पूरानो बसपार्कतिर जाने निर्णय गर्छौं । ऊ काठंमाण्डौंबारे आफू अनभिज्ञ भएको कुरा दोहोर्याउँछ, म खसी बजार जाँदैछु भनेपछी ऊ ढुक्क हुन्छ । उसलाई त्यहाँको एउटा स्टेशनरीमा जानुपर्ने रहेछ । म उसलाई त्यहाँ छोडेर आफ्नो कोठातिर लाग्छु, विश्रामको लागि । काठमाण्डौंको यो परियात्रा मेरो लागि स्मरणीय बन्छ ।
– २०५३-०१-२५, काठमाण्डौं ।