धुमधामसँग पसलमा बस्दै गरेको हुन्छु, आज एक साता भयो बिक्री व्यापार भएको छैन । त्यसो त कहिलेकाँही एक महिनासम्मै चुप लागेर बस्नु नपरेको होइन । तर यो त पर्यटकहरूको समय अर्थात मौसम थियो । त्यसै बस्न अल्छी लाग्छ र एउटा कागजमा केहि कोर्न थाल्छु । यस्तैमा एउटा मानिस आइपुग्छ र एउटा मुहारचित्र बनाउनुपर्ने कुरा सुनाउँछ । मुल्य तोकिन्छ, अड्भान्स लिन्छु, फोटो समाउँछु अनि एक हप्तापछी आउन भन्छु ।
केहि नभएपनि दुइचार दिन चिया खाने पैसा भयो नाई भन्दै फोटोलाई कागजमा उतार्ने कोशिस गर्छु, एकपटक मेट्छु पूनः बनाउँछु, मिल्दैन, मेट्छु । सोच्छु – ‘हाम्रो उद्देश्य ग्राहकको सन्तुष्टी !’ पूनः प्रयास गर्दछु, मलाई मुहारचित्र बनाउन त्यति राम्रोसँग चाँही आउँदैन, तरपनि आफैंमा सुधार गर्नुपर्दछ, त्यसैले कोशिस गरिरहेको छु । बल्ल बल्ल आकृतिमा सुधार आउँछ, मुहारचित्रमा अभिनय झल्किन्छ – तर चित्त बुझ्दैन । मलाई जस्ताको तस्तै बनाउने तरिका आउँछ, खाली हातलाई खेलाउनको लागि कोशिस मात्र गरेको हुँ । अनि फोटो बोकेर फोटोकपी गर्न जान्छु – इन्लार्ज गर्छु चाहिँदो साइजमा । र फर्कन्छु, मुनि कार्बन राखेर छाप्छु, जस्ताको तस्तै आकृती आएपछी ढुक्क हुन्छु । अनि रंग घोट्न थाल्छु, चाहेजस्तो मुहार चित्र तयार हुन्छ । यो सबै काम चानचुन चार घण्टामा सिद्धिएछ, तर उसलाई मैले एक हप्तापछी आउन भनेको छु ।
सरकारी अफिसमा पाँच मिनेटमा हुने काम पाँच दिन लाग्ने नियति जस्तै म कहाँ त्यस्तै भएको छ । यदी चाँहिदो पैसा अर्थात् रेट भन्दा बढी दिएको भए, दुई घण्टामा तयार हुन्थ्यो । तर सोझो हिसाबमा जानेलाई यस्तै हुन्छ । नेपालको घुस खाने नियति टड्कारो छ र घुस ख्वाउने पनि पछी हट्दैनन्, भनेजति दिईहाल्छन्, लाटासोझा सधैं पछि पार्छन् । ऊ अब एक हप्ता पछी मात्र आउनेछ ।
– २०५४-१२-०९, पोखरा – ८, नेपाल