जीवनको परिभाषा

‘जीवनको एकसमय मानिसमा त्यस्तो आउँछ, जुन बेला त्यो बैंशले मानिसलाई उन्मत्त बनाउँछ, वैंश उर्लन्छ, वैंशको बाढि आउँछ, सारा भावना र सपनालाई आँधीले तहसनहस पारेर कुण्ठित तुल्याउँछ र वैंश छचल्किन्छ अनि पोखिन्छ । वैंश छचल्किएर पोखिएपछी, जीवनको सतह समुद्र जस्तै निश्चल र स्थीर रहन्छ । बल्ल यतिखेर मानिसले आफ्नो वैंशको उर्लदाँ भेलहरू सम्झेरचित्त बुझाउने गर्दछ ।’ शायदः कसैले मलाई जीवनको अर्थ र परिभाषा सोध्छ भने म यही भन्ने थिएँ । शायदः यतिले मात्र त्यति नपुग्ला – म भन्ने गर्छु – ‘जीवन भनेको दण्ड हो, यमराजले मानिसलाई दिएको दण्ड ! खोक्रो शरिरलाई यमराजले एउटा डोरी बाँधेर सजीव तुल्याउँछ, त्यही शरिर र दण्ड सकिने अवधि अर्थात् मृत्यूबिचको सङ्घार हो जीवन । जसको फेसला यमराज गर्दछन्, त्यसैले यहाँ मानिसको जीवनको कुनै मूल्य र मान्यता हुँदैन, त्यो डोरी जुनबखत पनि चुँडिन सक्छ । जीवन भन्ने दण्ड त्यतिखेर सकिन्छ, अनि मात्र मानिसले स्वर्गमा वा नर्कमा स्थान पाउँछ । र यमराजको डोरी भनेकै वास्तवमा जीवन हो ।’ शायदः यो बन्दा बढी त कसैले भन्न नसक्ला – ‘पोखिएको वैंशको परिकल्पना भुल्न, जीवनको यथोचित मूल्य निर्धारण गर्न म खप्पीस छु । जीवनको मूल्य आजकाल हेरक साँझ म त्यही साँहिलीको भट्टीमा निर्धारण गर्दछु । वास्तवमा मैले जीवनको सही अर्थ लगाउन जानेको छु – यो मेरो घमण्ड भन्दा पनि फरक पर्दैन । मैले जीवनको सही उपयोग गर्छु भन्ने मलाई आफूमा दृढ विश्वास छ । त्यसैल मेरो न घर छ, न कुनै ठेगा – हरेक गल्ली मेरो ठेगाना अनि हर एक भट्टी मेरो घर – यति भन्दा काफी हुन्छ । हरेक दिन साँझ ढल्न नपाउँदै म जीवनको मूल्य निर्धारण गर्न भट्टी प्रयो गर्छु, जहाँ एक बोतल रक्सीसित मेरो जीवनको मूल्य म आफैं तुलना गर्ने गर्छु । पोखिएको वैंश, वैंशको उन्मत्त कल्पना म दिनभर एउटा कुनामा गर्दछु र साँझ ढलेपछी त्यसलाई भुलाउन भट्टीको प्रयोग गर्दछु । आजभोली हरेक साँझ मात्तिन थालेछ, जीन्दगी देखि जीन्दगी आत्तिन थालेछ – रहरै रहरमा पिएँ, विवश भएर पिएँ, पिउँदिन पिउँदिन भन्दै पिएँ, दुःखमा पिएँ सुखमा पिएँ, त्यसैले आजभोली जीन्दगानी छोट्टीन थालेछ, आजभोली हरेक रात रक्सिन थालेछ । स्वाभाविकै हो – त्यसैले मेरो हरेक साँझ विगतका कल्पनामा मात्तिने गर्दछ – रक्सिने गर्दछ, न मन्दिरमा बसेर पिएँ, न मसानमा लडेर पिएँ, न नाचेर पिएँ, न हाँसेर पिएँ बरू एकान्तमा सधैंजसो रूँदै पिएँ । मैले पिउनु र नपिउनुको औचित्य कसलाई के ? मेरो हरेक साँझ साँहिलीको टेबुलमा, हरेक रात चिसो-हिलो सडकमा बित्ने गर्दछ । मैले जति नै कोशिस गरेपनि मेरो मूल्य निश्चित हुँदैन र मेरो निलामीमा सडकका भतुवा कुकुरहरू बाहेक कोही उपस्थित हुँदैन । यो जीवन त मेरो लागि यमराजले दिएको बक्सिस न हो ? यस्तो बक्सिसको जीन्दगीको औचित्य के ? मूल्य के ? मान्यता के ? काम के ? जसलाई वास्ता हुनुपर्थ्यो – त्यो त भएन र त्यसले त गरिन भने अरूलाई के चासो ?’

यस्तै यस्तै भाषण सुन्ने श्रोता गल्लीका कुकुर हुने गर्दछन् । जो मेरो तर्फबाट केही पाउने आशा गर्दै म तर्फ उन्मुख हुने गर्दछन् । यहाँ मलाई पिउन देऊ भन्नु पर्दैन – पिउने त हाम्रो वैयक्तिक स्वतन्त्रता हो । जुन स्वतन्त्तता प्रेमपछीको विछोडमा हामीलाई प्राप्त हुन्छ । ‘पिउँदा पिउँदै जीन्दगी यो रित्याउन चाहन्छू म !’ भनेर कसैलाई सुनाउनु पर्दैन यहाँ । हामीलाई हाम्रो यो बक्सिसको जीन्दगीको मूल्य आफैंले चुकाउनु पर्ने कुनै आवश्यकता वा वाध्यता छैन, त्यो त हरेक साँझ रक्सीको बोतलले चुकाउने गर्दछ । उर्लँदो वैंशको बाढीमा सामेल हुँदा प्रेम भयो, तर वैंशालु आँधीमा तहसनहस पारेर वैंश मेरो उनले पोखिदिइन् । मेरो बगैंचाको फूल, मनपर्ने फूल भँवराले चुस्न नपाई ओइलिएको छ । कसैले त्यो फूललाई टिप्नु परेन र उनी आफैं चुँडिएर ओइलाइन् । गल्ती त सबै मार्फत हुन्छ, सुधार कमै । उनले मेरो जीवनमा प्रशनसुचक चिन्ह खडा गरेर गइन् – तर त्यसको उत्तर दिने कोही भएन । केवल मुटुमा चोट पारी उनी गइन्, तर त्यो कहाँ दुख्छ, कसैले थाहा पाउन सक्तैन । अब त जीवनको परिभाषा लेख्नुपर्दा ‘विछोड’ मात्र लेखे पुग्छ ।

यमराजले बक्सिस दिएकै भए पनि उनले मेरो जीवनलाई रक्सीको दायरामा सिमीत बनाएर – मलाई कैदी बनाइन् । त्यस्तो कैदी जो आफ्नो इच्छाले भट्टीको ठर्रा बाहेक अरू केही खाना र गर्न सक्तैन ।

आजकाल म बिनालक्षित जीवनको मार्गमा निरुद्देश्य नजानी के को खोजी गर्दैछु – म शायदः मृत्यू खोजिरहेको छु । किनकी अहिलेको दुनियामा मृत्यू बाहेक अरू सबै लक्षित र उद्देश्य अँगाल्नेमा पर्दछन्, म आफूलाई रक्सीभित्र खोज्ने गर्छु – नशाभित्र खोज्ने गर्छु – गल्लीभित्र खोज्ने गर्छु – मृत्यूसँग दाँज्न खोज्छु – सडक, भट्टीमा सुताउन खोज्छु । शायदः मेरो यो जीवनको अर्थ उनलाई सुनाउने कोही छैन । शायदः उनलाई के थाहा – ‘म त जीवनको परिभाषा र अर्थभित्र मात्र सिमीत भइसकेको छु । मलाई यमराजले बाँधेको डोरी अब एकसरो मात्र चुँडिन बाँकी छ, नजाने त्यसले कतिसम्म थेग्न सक्ला ….. ? …………………….’

– २०५२-०४-२६ गाइजात्रा, प्रमाणपत्र तह द्वितीय वर्ष, हरियोखर्क, पोखरा – १५