‘खच्, खच्, खच्, खच् !’ समय अघि बढिरहेको छ, घडीले समयलाई भयानक कोर्रा हानिरहेको छ, छेवैमा मधुर संगीत गुञ्जिइरहेको छ – ‘तु इस तरह से मेरे जिन्दगीमे सामिल हे…’ आत्मा कठोर हुँदै गइरहेको छ, अनि आँखा अगाडी एउटा पुस्तक आफूलाई पढिदिने आग्रह गर्दैछ । तर ! तर, मन पटक्कै पुस्तकमाथि पर्न मान्दैन -आखिर पाठ्यपुस्तक त थियो । पाठ्यपुस्तक अर्थात् करले पढ्नैपर्ने पुस्तक, प्रमाणपत्र आर्जन गर्न पढ्नुपर्ने पुस्तक । समझन्छु – ‘हामी त केवल मृत्युको आगमन कुर्न बसेका हौं !’ संगीत बन्द हुन्छ – घडीको कोर्रा टड्कारो सुनिन्छ ।
‘ढक, ढक, ढक, ढक !’ ढोकाबाट आवाज आउँछ, शायदः कोही भित्र आउने अनुमति चाहन्छ, एउटा अवरोधक – जो सजिलैसँग मृत्यु कुर्न पनि दिदैंन । आखिर वाध्यता थियो – ढोका त खोल्नैपर्यो । बजिया हल्ला गर्दै भित्र पस्छ – ‘तिमी घाम अनि म छायाँ !’ अशोक सिधै मेरो पढ्ने ठाउँतिर पुग्छ र भन्छ – ‘पढन्दास ! कति पढ्न सक्छस् ?’ हुन पनि किताब अगाडी राखेपछी लद्दु पनि पढन्दास भइदिन्छ । अशोक केहिबेर हल्ला गर्छ, गीत गाउँछ – ‘अजीव दास्ताँ है ये…’ अनि यता उता छानबिन गर्छ, म उसको कृयाकलाप हेरिरहन्छु, एउटा जासुस झैं अनि अन्तमा एउटा पुस्तक ‘हस्तरेखा विज्ञान’ लिएर निस्कन्छ । म पूनः ढोकामा छेस्किनी घोट्छु, अनि पुस्तक भएतिर लाग्छु, पुस्तकको आग्रह पूरा गर्न खोज्छु – ‘राष्ट्रवादको शिद्धान्त उन्नाइसौं सताब्दीको सुरुमा युरोपमा प्रादुर्भाव भएको हो । ह्यान्स कोन भन्दछन् – विश्वव्यापी महत्वको कुरा भएता पनि राष्ट्रवादको विचार…’ एक्काइसौं शताब्दी आउँदा उन्नाइसौं शताब्दीको कुरा, चित्त बुझ्दैन, मानिसमा भ्रष्टचारवाद, अवसरवाद, घुसवादले प्रश्रय पाइरहेको यो समयमा राष्ट्रवाद – झनै चित्त बुझ्दैन । पुस्तक बन्द गरेर एउटा कुनामा तह लगाउँछु अनि अर्को पुस्तक निकाल्छु –
‘I get up,
Disturbed by the noise of raindrips.
It’s still raining.
Where is the sun?’ झनै चित्त बुझ्दैन, के नै लेखे भन्ठान्दो हो, एउटा सामान्य क्रियालाई लिपीबद्ध बनाएर कविता बनाउँदैमा कवि हुने घमण्ड गर्दो हो, सोच्छु – त्यस्ता जाबा कविता त म पनि लेख्न सकिहाल्छु । अनि कलम कापी समाएर लेख्न थाल्छु –
‘सूर्य उदायो,
चराहरू उडे
तर कहाँ
आकाशमा !’
एउटा कविता भै त हाल्यो । पूनः अल्छि लाग्छ पुस्तक बन्द गर्छु, कविलाई धिक्कार्छु, कपि, कलम तह लगाउँछु । सोच्छु – ‘यो दुनिया, यो रङ्गमञ्च, यो जिन्दगी ! मेरो लागि औचित्यहिन छ ।‘ एक्कासी घडीले कोर्रा हान्छ – ध्यान भङ्ग हुन्छ, सिरानमुनिबाट डायरी पल्टाउँछु – तस्वीर हेर्छु । अनि एक एक गरि पाना पल्टाउँछु, कतै पत्रबाट एउटा चिठी फुत्त खस्छ, पल्टाउँछु – पढ्छु –
‘चन्द्र ! यदिऽऽ… तिमी ! तिमी मेरो जीवनबाट टाढा भयौ भने मेरो जीवनको अस्तित्व नै रहने छैन, शायदः …….. त्यतिबेला म लगाम नभएको घोडा अनि वीणा नभएकी सरस्वती हुनेछु । ………. टिप्नेले त फूलमात्र टिप्छन्, फूलसँगै काँडा टिप्दैनन् । जसले गर्दा फूल चाँडै ओइलाउँछ ………….. ।’ सनीमाको त्यो पत्र फढेर सकेपछी अतीतमा फर्कन्छु । सनीमा – मेरी प्रेमिका, क्याम्पस जीवनमा उनको र मेरो सम्बन्ध प्रगाढ भएर प्रेममा बदलिएको थियो । अतीत गुञ्जन्छ – म त एउटा सपना हुँ, यो सपनासँग कसैले प्रेम नगर !’ म अतीतलाई ज्यादा नै प्रेम गर्दछु । सनीमा मलाई कहिल्यै नछुट्टिने वाचा गर्न लगाउँथिन् र म गर्थें पनि । उनी मसँग घुम्ने चाहना गर्दथिन् अनि म उनीसँगै घुम्न निस्कन्थें, ताल, गुफा, झरना, बाँध इत्यादी । कुनै एकान्त ठाउँमा बस्दा, मेरो शिर उनको काखमा हुन्थ्यो, उनको हात मेरो केशराशी खेलाउने गर्दथ्यो । हामी घण्टौं त्यसरी नै बस्थ्यौं । म अतितबाट फुत्केर वास्तविकतामा आउँछु – उनको तस्वीर हेर्छु – कति हँसिली छिन् उनी, लामो केशराशी, गोल अनुहार अनि आकर्षक आँखा । घडीले पूनः कोर्रा हान्छ – समयलाई । पूनः डायरीका अन्य पानाहरू पल्टाउन थाल्छु । उनका हातले लेखिएका असङ्ख्य भावहरू छन् मेरो रोजनाम्चामा । समस्तमा मेरो र उनको संयुक्त रोजनाम्चा हो त्यो – प्रत्येक पृष्ठमा ‘म तिमीलाई प्रेम गर्छु’ भन्ने वाक्य कोरिएको छ । हुन त, जीवन पनि एउटा रोजाना लेखिने पत्रिका हो, जीवनले असङ्ख्य घट्नाहरू निलेर बसेको हुन्छ । वास्तवमा ‘भवँराले रस नचुसी फूलको जीवनले सार्थकता पाउँदैन ।’ तर मलाई लाग्दैन – भवराँ र फूल जस्तो हाम्रो जीवन हो, प्रेम हो !
सोचाइमा नै समयको असङ्ख्य भेलहरू बगाइसकेको रहेछु । अर्को एउटा पस्तक पल्टाउँछु – ‘प्रसिद्ध दार्शनिक तानिकावा तेचुजाका एक मात्र सुपुत्र उन्नाइस वर्षीय किशोर तानिकावा सुनतारोलाई कवि यियोसी ताचुजीले ‘बुङ्गाकाई’ साहित्यिक पत्रिकामा परिचय गराइदिए ।’ मान न मान मै तेरा मेहमान – कसैले परिचय गराइदियो भन्दैमा ऊ कवि हुन जाने ? हुन त एकले परिचय नगराईकसरी उभो लागिन्छ र ? तर म मा एउटा अनौठो बानी छ – ‘म मैं हुँ !’ खाना खाने समय भइसक्छ – म खाना खान निस्कन्छु – खान मन लाग्दैन, खाँदा खाँदै छोडेर उठ्छु, अनि बाहिरतिर टहलिन हिँड्छु । बाटोमा पूनः अशोक भेट हुन्छ, ऊ म सँगसँगै पछी लाग्छ, म वास्ता गर्दिन । एकोहोरो हिँड्छु, शायदः दङ्ग पर्यो होला । अल्छि लागेजसतो हुन्छ, अशोक बोल्न खोज्थ्यो – म चुप भइदिन्छु । चउरको एक छेउमा गएर बस्छु – स-साना ढुङ्गाका टुक्राहरू जम्मा गर्छु – घेरो लगाउँछु र बिचमा थच्किन्छु, सोच्छु – ‘म कैदी हुँ !’ किनकी आफ्नो ईच्छा अनुसार केहि गर्न सक्ने सामर्थ्य छैन । अशोक कतै लागिसकेको हुन्छ । म त्यहाँबाट कोठातिर फर्कन्छु ।
कोठामा उही घडीको कोर्रा दोहोरिन्छ, पूनः अघिको रोजनाम्चा पल्टाउँछु अनि लेख्न थाल्छु – ‘वास्तवमा बाँच्नु नै मर्नुको लागि हो ?’ कति लेख्नु, आखिर कवि हुने ईच्छा मसँग छैन, त्यत्तिकैमा एउटा पाना भरिन्छ । अनि सनीमाका पत्रहरू झिक्छु, एक एक गरि पल्टाउँछु, पढ्छु – रोमाञ्चक अनुभुति लिन्छु । अन्तमा उनको अन्तिम पत्र पल्टाएर हेर्न थाल्छु – ‘तिमी जसको हुनेछौ, त्यो भाग्यमानी हुनेछ ! चन्द्र ! तर, म खुद बुझ्न सकिरहेकी छैन, आखिर एकले अर्कासँग टाढिनु त पर्छ नै ? तर, पारिवारिक, सामाजिक रितीरिवाजहरूलाई पछ्याउँदै म तिमीबाट टाढा हुन गइरहेकी छु, म आफ्नो विवाहको कुरालाई प्रतिकार गर्न सकिरहेकी छैन………………’ आँखा टलपलिन थालेको थियो, आखिर प्रेमीहरूका बिच यो ठूलो समस्या हो, सारा सपनाहरू डढेर खरानी हुनपुग्छन् । अतीत पिउन सक्तिन रूमाल लिएर आँखा हल्का बनाउँछु – ‘कहिले चुप बस्छु, कहिले केही गुनगुनाउँछु, तिमी उति याद आउँछ्यौ, जति तिमीलाई भुल्ने कोशिस गर्दछु अर्थात् जीवन भन्नु त यस्तै रहेछ हर साँझहरू बदलिने गर्छन्, माया भन्नु त यस्तै रहेछ हर प्रेमीहरू बदलिने गर्छन् !’ पूनः घडीको कोर्रातिर ध्यान दिन्छु – घडी समयको हत्या प्रत्येक सेकेण्ड, प्रत्येक मिनेट, प्रत्येक क्षणमा गर्दछ – कहिल्यै थाक्दैन ।
म थाकिसकेको छु । अब त सुत्नु पर्छ – तर निद्रा लाग्दैन – सनीमा आँखा वरिपरि घुम्छिन्, सम्झन्छु, भोलीको दिन महत्वपूर्ण छ – उर्मिलाले भोली आफ्नो जीवनको खुट्किलोमा अर्को पाइला हाल्ने दिन अर्थात् जन्मदिनको रमाइलोमा निमन्त्रण गरेकी छिन्, जुन उनले आजको नौकाबिहार गर्दाको बखत बताएकी हुन् । मलाई त्यँहा जानुपर्ने वाध्यता नै छ, आखिर म उनीसँग प्रणयसुत्रमा बाँधिने निश्चित भइसकेको छ – बुबा आमाको दुइतर्फी पहलमा । म उर्मिलासँग तर्किने कोशिस गर्दछु – उनी झन् झन् टाँसिने कोशिस गर्छिन् – नानाथरीका आग्रह गर्छिन् ।
म उर्मिलाको जन्मदिनको कल्पना गर्न सक्दो कोशिस गर्दछु, तर आँखा अगाडी सनीमाको अनुहार मात्र देख्छु, लाग्छ – जीवनमा सनीमा बाहेक अरू कसैलाई मेरो मनले चाहन सक्दैन । निद्रा लाग्दैन – बत्ती बाल्छु – पुस्तक पल्टाउँछु – ‘वर्तमा क्रान्तिकारी परिस्थितीमा जन संविधान सभाको आयोजना एक मुख्य प्रश्न बन्न गएको छ । यो प्रश्न कसरी हल गर्ने हो भन्नेबारे मतभेद छ । …………’ जहाँसुकै मतभेद छ – ‘वाहियात् !’ वास्तवमा हुने केही होइन । म चुप लाग्छु – घडी कोर्रा हान्दै गर्छ …… ।
– २०५४-११-२४, ड्रिमल्याण्ड, पोखरा – ८