‘बाटो समर्पणको’ कुनै मनगढन्ते शिर्षक होइन यो, यो त उसले सदादिन बताउने गर्दछ । ऊ भन्दथ्यो – ‘सनीमा, हामी एकअर्काबाट छुट्टियौं भनें म सपर्णको बाटो अपनाउने छु ?’ तर कस्तो समर्पणको बाटो हो – ऊ त्यसबारे बताउँदैन, म नारी भएर पनि नारी स्वाभावको छुइन, र उसको त्यो साहित्यिक भाषा म बुझ्ने कोशिस गर्दछु – तर सक्तिन । नियति भयङ्कर हुन्छ – राक्षस जस्तो (सायदः० । समयको परिवर्तनसँगै म वाध्यवश चन्द्रबाट छुट्टिएर केहि समयको लागि बाहिर जानुपर्ने भयो । केहि समयको लागि विदा लिनुभन्दा अघि म उसँग बसेर कुरा गरने कोशिस गर्छु । ऊ चुप बसेको छ, म कुरा झिक्छु – ‘चन्द्र ! अब केहि समय बाहिरिनु छ, प्लिज ! केहि कुरा त गर न ?’ ऊ भन्छ – ‘सनीमा ! आखिर त्यही भयो जुन मैले कल्पना गरेको थिएँ । अब तिमी नआईञ्जेल समर्पणको बाटो अपनाउने छु ! जब तिमी मेरि हुन्छ्यौ, तब यो समर्पणको बाटोले सार्थकता पाउनेछ । तिमी यदी फर्किनौ भनेपनि म यो समर्पणको बाटो अन्तसम्म पनि छोड्दिन !’ तर म उसको कुरा बुझ्न सक्तिन थिएँ । अन्तमा उसले मेरो तर्फबाट रगत उपहार माग्यो – प्रेमिका भएको नाताले मैले अस्वीकार कसरि गर्नु प्रेमीको प्रस्ताव, औंलामा सानो पिनले कोप्छु – दुख्छ, रगत आउँछ र उसले एउटा कपडाको टुक्रा रगतले भिजाउँछ अनि प्लास्टिकले बेर्छ तत्पश्चात उसले मेरो औंलामा औंठी लगाइदिन्छ । म औंला च्यापिरहेको हुन्छु, उसले मेरो दुखाइमा चासो लिँदैन, मात्र मेरो हातमा चुम्वन गर्छ, म संयमित हुन खोज्छु – तर सक्तिन, आँखा अश्रुहरूले रसिला भइसकेका छन् – मात्र रुन सकिरहेकी छैन म ! पूनः ऊ चुपचाप बस्छ, म पनि उसको साथमा गएर बस्छु, उसको काँधमा आफ्नो सिर अड्याएर केहि प्रश्न गर्छु – ‘मेरो पत्रको जवाफ त दिन्छौ होला नि !’ ऊ मात्र ‘दिन्छु’ भन्छ ।
उसँग छुट्टिएर टाढा बसेकी छु, झण्डै डेढ वर्ष बितेछ । उसले पत्र पठाइरहन्छ, म पनि उसलाई पत्र लेखिरहेकी छु, पठाइरहेकी छु । उसको पत्र पढ्दा ऊ केही मात्रामा बदलिएको छ, केहि नयाँ र अचम्मका कुराहरू लेख्छ – जुन म बुझ्दिन तर उसले पत्रको अन्तिममा ‘समर्फणको बाटो’ लेखेको छ, म त्यसैमा चित्र बुझाउँछु । आजकाल उसको पत्रमा उसले केहि कविता समावेश गर्ने गर्छ – प्रायः कविताको शिर्षक रहन्छ – ‘समर्पणको बाटो; सनीमा र तिमी’
धेरै समयपछी उसले पत्रिकामार्फत आफ्नो समर्पणको बाटो प्रकाशित गर्दछ, मलाई कवि मन पर्दैन, कवि प्रायः दरिद्रतामा बाच्ने गर्छन, त्यसैले मैले पहिलेदेखिनै कविहरूलाई तिरस्कार गर्ने गरेकी छु, मलाई कविसँग आफ्नो कोमल जीवन गुजार्ने रहर रत्तीभर छैन । चन्द्र कवि भइसकेको छ, म उसको पत्र बुज्दिन, देखावटीमा ‘समर्पणको बाटो’ मात्र बुझ्छु, म उसको पत्रबाट टाढा भाग्ने प्रयाशः गर्दछु । अन्तमा उसलाई म धोका दिएर प्रवासमा नै विवाह गर्दछु – मेरो श्रीमान धनी छ, राम्रो छ, उसँग गाडी छ – चिल्लो गाडी, चारतले बिल्डिङ्ग छ, दुई-चार वटा फैक्ट्री छ, मलाई केही दुःख छैन । आजकाल उसले पत्र लेख्दैन, तर पत्रिकामा उसका लेखहरू, कविताहरू छापिइ नै रहेका छन् – उसको लेखको अन्तमा सधैं ‘समर्पणको बाटो’ लेखिएको हुन्छ ।
मैले विवाह गरेको कुरा उसलाई थाहा छैन । पूर्व स्मृतिको त्यो स्थानमा म जान्छु, जहाँ उसको घर छ । ढोकामा नै ‘समर्पणको बाटो’ लेखिएको छ, ऊ दाह्री जुँगा ठुस्स पालेर लेख्न व्यस्त छ । म उसलाई वास्तविकता बताउँछु, ऊ हतासिन्छ अनि एउटा पोको दिन्छ – ‘समर्पणको बाटो’ । दुई दिनपछी म थाहा पाउँछु – उसले त आत्महत्या गरेछ – कायर रहेछ । उसको सम्मान हुन्छ ‘समर्पणको बाटो’ उसको पहिचान भइसकेको रहेछ, तर मलाई दुःख छैन – किनकी ऊ कवि हो !
– २०५४-१२-२३ रामनवमी, ड्रिमल्याण्ड, पोखरा – ८